आज देशभर सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
बारा:
जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित सडकमा पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना.३३ प ६८५७ नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
दुर्घटनामा सोही उपमहानगरपालिका–१५ नयाँबस्ती टोलका २० वर्षीय साजन तमाङ र १४ खयरघारी टोलका २२ वर्षीय किरण मोक्तान गम्भीर घाइते भएका थिए। उनीहरू दुबैको उपचारको क्रममा एलएस न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
नवलपरासी पूर्व:
मध्यबिन्दु नगरपालिका–११ दमारस्थित सडकमा ग.प्र.०४–००१ प ४११३ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई दुर्घटना हुँदा २३ वर्षीय सुदिप बरालको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका बरालको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको थियो। मोटरसाइकलमा सवार अर्का व्यक्ति गम्भीर घाइते भएका छन् र उनलाई पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ।
धनुषा:
जनकपुरधाम उपमहानगरपालिका–१८ भोईलास्थित सडकमा शनिबार दिउँसो प्र.२–०२–००४ प ९२८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १६ वर्षीय अर्जुन दासको मृत्यु भएको छ। रजौल बस्ने दासको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते मोटरसाइकल चालक र अर्का सवारको उपचार न्यूरो अस्पताल जनकपुरमा भइरहेको प्रहरीले जनाएको छ।
चितवन:
कालिका नगरपालिका–७ गोर्खाली चोकस्थित सडकमा बा.प्र.०६–००२ प ७८८९ नम्बरको मोटरसाइकलको ठक्करबाट ५६ वर्षीय रेशम थापा गम्भीर घाइते भएका थिए।
थापाको न्यूरो अस्पताल काठमाडौंमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटनाको आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस