पूर्वी नवलपरासीमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

पूर्वी नवलपरासीमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
सोमबार बिहान साढे ६ बजे मध्यबिन्दु नगरपालिका–८ गडारखोलास्थित पूर्व–पश्चिम राजमार्गमा चोरमाराबाट अरुणखोला जाँदै गरेको लु ५५ प २९४८ नम्बरको स्कुटरलाई नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ६६३४ नम्बरको तेल बोकेको ट्यांकरले ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्कर दिएपछि ट्यांकर करिब १५ मिटर तल खसेको थियो। दुर्घटनामा स्कुटर चालक मध्यबिन्दु नगरपालिका–१३ मैनाघाटका अन्दाजी ४२ वर्षीय वीर बहादुर सिञ्जालीको मृत्यु भएको हो।
गम्भीर घाइते सिञ्जालीलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल पुर्याइएपछि चिकित्सकले बिहान सवा ७ बजे मृत घोषणा गरेका थिए।
स्कुटरको पछाडि सवार मध्यबिन्दु–७ अम्रसाका २३ वर्षीय चन्द्रबहादुर गाहा र मध्यबिन्दु–९ बसन्तपुरका ३१ वर्षीय समीर जंग कुमाल घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्यांकर चालक सल्यानको शारदा नगरपालिका–१४ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ४७ वर्षीय खलकराम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस