आज देशभर छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
देशभर शुक्रबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका–७, लिस्नेमा मुसिकोट खलंगाबाट स्यालाखदीतर्फ जाँदै गरेको रा.१ ज ४२२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा आठबिसकोट नगरपालिका–३ स्याला बस्ने ३० वर्षीया कमला वली, सोही नगरपालिका–१ का १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १५ वर्षीया कल्पना नेपाल, १७ वर्षीया मनिका वली, १८ वर्षीया सर्मिला विक र २२ वर्षीय गोपाल वलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएकी २८ वर्षीया सबिता विकको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते नौ जनामध्ये ६ जनाको उपचार सल्ले अस्पतालमा भइरहेको छ भने ३ जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
स्याङ्जा — पुतलीबजार नगरपालिका–१४ आमडाँडामा लु.५९ प ३७९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ४५ वर्षीय माधवप्रसाद लम्सालको घटनास्थलमै मृत्यु भएको छ ।
प्युठान — माण्डवी गाउँपालिका–५ रम्दीमा ऐरावतीबाट चकचकेतर्फ जाँदै गरेको लु.प्र–०३–००१ ज ००१८ नम्बरको गाडी दुर्घटना हुँदा चालक २६ वर्षीय निरज नेपालीको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको छ ।
घाइते अन्य तीन जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।
रूपन्देही — देवदह नगरपालिका–९ घोडाह जंगलस्थित सडकमा लु.४ प ९९५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक २५ वर्षीय सम्सेर खानको मृत्यु भएको छ ।
गम्भीर घाइते खानको सिद्धबाबा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सो मोटरसाइकलमा सवार अर्को व्यक्ति देवदह मेडिकल कलेजमा उपचाररत छन् ।
दाङ — घोराही उपमहानगरपालिका–१३ ओडारखोला क्षेत्रमा रा.१ ह ५८१० नम्बरको अटो दुर्घटना हुँदा अटोमा सवार ३६ वर्षीया बमकुमारी विकको मृत्यु भएको छ ।
गम्भीर घाइते विकको नेपालगञ्जस्थित संजीवनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य ६ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाल्पा — रामपुर नगरपालिका–७ तुरूङ्दी खोलास्थित सडकमा लु.१३ प ८६३५ र लु.७७ प ४५०५ नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा बगनासकाली गाउँपालिका–९ का २८ वर्षीय अर्जुन विकको मृत्यु भएको छ ।
रामपुर अस्पतालमा उपचारका क्रममा विकको मृत्यु भएको हो । अर्को मोटरसाइकलका चालकलाई थप उपचारका लागि बीएण्डबी अस्पताल काठमाडौं पठाइएको छ ।
प्रहरीका अनुसार सबै दुर्घटनाका घटनामा आवश्यक अनुसन्धान सुरु गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस