छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु, घाइतेको उपचार जारी
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ।
चितवनको रत्ननगर नगरपालिका–९ टिकौलीस्थित सडकमा बा.प्र ०२–०३४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार माडी नगरपालिका–१, गर्दी बस्ने २० वर्षीय तृशल महतो घाइते भएका थिए। उनी सेन्ट्रल अस्पताल, भरतपुरमा उपचारको क्रममा मृत्यु भएका हुन्। दुर्घटनामा घाइते मोटरसाइकल चालकको उपचार सोही अस्पतालमा भइरहेको छ।
मोरङको ग्रामथान गाउँपालिका–५ ककडमाडीस्थित सडकमा प्र.१–०२–००१ख ८७७० नम्बरको टिपरले प्र.१–०२–०५२ प ९००५ नम्बरको स्कुटरलाई बिहीबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार सोही गाउँपालिका–५ बस्ने ३५ वर्षीय केशर कार्कीको छोरा १४ वर्षीय अनुप कार्कीको नोबेल अस्पताल, विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ। घाइते स्कुटर चालकको उपचार जारी रहेको छ भने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तनहुँको भिमाद नगरपालिका–६ जिद्धी खोलास्थित सडकमा ग.१ त ४४५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार धादिङ, रोराङ गाउँपालिका–१० बस्ने ३५ वर्षीय प्रेम चेपाङको जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते ट्याक्टरमा सवार एकजनाको उपचार स्थानीय मेडिकल, भिमादमा भइरहेको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कास्की, पोखरा महानगरपालिका–७ मुस्ताङ चोकस्थित सडकमा हाल नम्बर नखुलेको बोलेरो जिपले ग.९ प ६१८५ नम्बरको स्कुटरलाई बिहीबार राति ठक्कर दिँदा स्कुटर चालक, पोखरा–१७ हिमालीटोल बस्ने र चितवन, माडी नगरपालिका–४ घर भएका १८ वर्षीय विवेक रानाभाटको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ। फरार बोलेरो जिप र चालकको खोजी प्रहरीले गरिरहेको छ।
प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस