बैतडीमा जन्ती बस दुर्घटना: मृतक संख्या १३ पुग्यो (नामसहित हेर्नुहोस्)
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतक सबैको सनाखत भइसकेको प्रहरीले जनाएको छ ।
हिजो राती पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किंदै गर्दा सोही वडाको बडुगाउँ मोडमा सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकबाट करिब दुई सय मिटर तल खसेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
प्रहरीका अनुसार बिहीबार रातिसम्म आठ जनाको मृत्यु पुष्टि भएको थियो । थप पाँच जनाको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या १३ पुगेको हो ।
डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, अन्दाजी २७ वर्षीय दीपक जोशी र अन्दाजी ४५ वर्षीय किसनदत्त जोशी रहेका छन् । यसैगरी केदारस्यु गाउँपालिका–७ का अन्दाजी २६ वर्षीय केशवराज भट्ट र बैतडी पुर्चौडी नगरपालिका–७ का अन्दाजी १४ वर्षीय सुशील जोशीको पनि ज्यान गएको छ ।
यसअघि नै मृत्यु हुनेको सूचीमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशी रहेका छन् । अन्य मृतकमा केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट र जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुका अनुसार दुर्घटनामा घाइतेमध्ये २५ जनाको डडेलधुरा अस्पतालमा र चार जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । थप पाँच घाइतेलाई धनगढी रिफर गरिएको छ ।
प्रहरीले बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।
बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल छन् । जन्ती सवार बस बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडातर्फ फर्किंदै गर्दा दुर्घटनामा परेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस