चालक निदाउँदा मकवानपुरमा गाडी ३० मिटर तल खस्यो
मकवानपुरमा गाडी दुर्घटना हुँदा एक जना गम्भीरसहित चार जना घाइते भएका छन्।
शनिबार बिहान करिब ६ बजे इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसीस्थित कुलेखानी–काठमाडौं सडकखण्डमा वीरगंजबाट काठमाडौं आउँदै गरेको ना ४ च ९७७७ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार चालक निदाउँदा गाडी अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो।
दुर्घटनामा कलैया उपमहानगरपालिका–२ का ३८ वर्षीय चालक विजय यादव, गाडीधनी ५० वर्षीय सन्तोषकुमार गुप्ता, उनकी ४० वर्षीया श्रीमती शोभा गुप्ता र १६ वर्षीय अनमोल गुप्ता घाइते भएका छन्।
घाइतेमध्ये शोभा गुप्ताको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ भने अन्य तीन जनाको अवस्था मध्यम रहेको छ।
घाइते सबैलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस