आज देशभर सवारी दुर्घटना: दाङ, प्युठान, चितवन र कैलालीमा ४ जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
तुलसिपुर उपमहानगरपालिका–९ दुधेनामा रा.७ प ६३३१ नम्बरको स्कुटरलाई रा.१ ख २३०८ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटरमा सवार ५० वर्षीया पुष्पा कडेलको घटनास्थलमै मृत्यु भएको छ। घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, प्युठान नगरपालिका–८ पाडाबाङमा रा.१ ख १८३९ नम्बरको टिपरले ठक्कर दिँदा पैदलयात्री राप्ती नगरपालिका–१ भालुबाङका ४४ वर्षीय अशोक परियारको घटनास्थलमै ज्यान गएको छ। सो घटनामा पनि टिपर चालक नियन्त्रणमा लिइएको छ।
त्यसैगरी चितवनको राप्ती नगरपालिका–२ गड्यौलीमा बा.प्र ०३-००३ प ७९७९ नम्बरको मोटरसाइकललाई बोलेरोले ठक्कर दिँदा २७ वर्षीय दिपेश उप्रेती गम्भीर घाइते भएका थिए। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैबीच, कैलालीको बर्दगोरिया गाउँपालिका–४ नौनियामा से.२ त ११८५ नम्बरको ट्याक्टरको ठक्करबाट ४२ वर्षीया दिपा न्यौपानेको मृत्यु भएको छ। गम्भीर घाइते भएकी उनको उपचारका क्रममा ज्यान गएको हो।
सबै घटनामा संलग्न सवारी चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस