देशभर सवारी दुर्घटना भयावह, एकैदिन चार जनाको मृत्यु
आज देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका - १७ इन्द्रायणी मन्दिर नजिक बा.९० प ३०८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक काभ्रेको भुम्लु गाउँपालिका - ५ निवासी ४९ वर्षीय प्रेम लामाको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो।
त्यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका - २२ जगरनाथपुर ढाँटमा बिआर ०६ जिडी ४९११ नम्बरको ट्रकले ना.४१ प १६६१ नम्बरको मोटरसाइकललाई शुक्रबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार वीरगञ्ज - २८ बगही निवासी ३८ वर्षीया मुर्ती देवीको मृत्यु भएको छ। गम्भीर घाइते भएकी उनको नारायणी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।
बाँकेको कोहलपुर नगरपालिका - ११ कृषि चोकमा बर्दियाबाट कोहलपुरतर्फ आउँदै गरेको बा.प्र.०३ - ००१ क ०६५३ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा स्थानीय रूपमा बसोबास गर्दै आएका हुम्ला घर भएका ३८ वर्षीय खेमराज शाहीको शुक्रबार राति मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा ज्यान गएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, मोरङको रंगेली नगरपालिका - ७ बसपार्क क्षेत्रमा मे.४ प ९०१२ र बिआर ३८ टि ०२८० नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा शनिबार दिउँसो दुर्घटना भएको छ। उक्त दुर्घटनामा मे.४ प ९०१२ नम्बरको मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। उनको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न अर्को मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस