Techie IT
२०८३ वैशाख ९, बुधबार

आज देशभर सवारी दुर्घटनामा ५ जनाको मृत्यु


देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्।
महोत्तरीको बर्दिबास नगरपालिका–४ मा म.प्र.०२–०१० प ४७४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक रामगोपालपुर नगरपालिका–१ का ३२ वर्षीय कलाम शेषको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको बर्दिबासस्थित शुभ स्वास्तिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

यस्तै धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा ‘अनटेष्ट’ लेखिएको मोटरसाइकलको ठक्करबाट ३१ वर्षीया बिनिता कुमारीको मंगलबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको हो। सोही दुर्घटनामा घाइते अन्य तीन जना पैदलयात्रीको लालगढ मोडल अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल चालकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

चितवनको भरतपुर महानगरपालिका–२ आपटारी भँगेरी चोकमा बा.प्र–०१–०३३ च ९३७४ नम्बरको कारले ठक्कर दिँदा कञ्चनपुर घर भई सोही स्थानमा डेरा गरी बस्दै आएका ३ वर्षीय रिदम फुनाको मृत्यु भएको छ। गम्भीर घाइते बालकको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–१० सिस्नेमा बा.२ झ ३८५४ नम्बरको सुमोले ठक्कर दिँदा पैदलयात्री ४७ वर्षीय श्यामबहादुर भुजेलको मंगलबार राति मृत्यु भएको छ। घाइते भुजेलको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। सुमो चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

रूपन्देहीको ओमसतिया गाउँपालिका–१ कटैयामा लु.३७ प ८७८ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा ५१ वर्षीय तारा बहादुर थापाको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारका क्रममा ज्यान गएको हो। दुर्घटनामा घाइते स्कुटर चालकको सिटी अस्पताल भैरहवामा उपचार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट