Techie IT
२०८३ वैशाख २०, आइतबार

देशभर सवारी दुर्घटनाको कहर, एकैदिन ९ जनाको मृत्यु


देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको ज्यान गएको छ। प्रहरीका अनुसार शुक्रबार र शनिबार भएका दुर्घटनामा बालबालिकासहित विभिन्न उमेर समूहका नागरिकले ज्यान गुमाएका हुन्।

सुनसरीको दुहबी नगरपालिका - २ तुथाहामा बसको ठक्करबाट करिब ५० वर्षीय एक साइकलयात्रीको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको कोशी अस्पताल मा उपचारका क्रममा ज्यान गएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्लाहीको लालबन्दी नगरपालिका - ४ मा ट्र्याक्टरको ठक्करबाट ६ वर्षीया अन्सु भट्टराईको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्, जसको उपचार भइरहेको छ।

बाराको कलैया उपमहानगरपालिका - २४ मा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया दहउरा देवी महतोको मृत्यु भएको छ। उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा निधन भयो।

कास्कीको अन्नपूर्ण गाउँपालिका - ९ मा बोलेरोको ठक्करबाट ६ वर्षीया सुस्मा आलेको ज्यान गएको छ। घाइते भएकी उनलाई फिस्टेल अस्पताल लगिएको थियो।

नवलपरासी पूर्वको कावासोती - ८ मा रोकी राखिएको ट्रकमा स्कुटर ठोक्किँदा ३६ वर्षीया निशा कुमालको मृत्यु भएको छ।

कञ्चनपुरको दोधारा चाँदनी - १ मा टिपरको ठक्करबाट १४ वर्षीय विवश चुनाराको घटनास्थलमै ज्यान गएको छ।

धनुषाको हंसपुर नगरपालिका - २ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १४ वर्षीय कृष्ण मण्डलको मृत्यु भएको छ। अर्का एक जना घाइते छन्।

त्यसैगरी बर्दियाको गुलरिया - ११ मा गाडीको ठक्करबाट ८ वर्षीया नाजिया साइको घटनास्थलमै मृत्यु भएको छ।

यसैबीच, धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका - ४ मा अर्को मोटरसाइकल दुर्घटनामा ३० वर्षीया जुरोदेवी साहको उपचारका क्रममा ज्यान गएको छ।

सबै घटनामा संलग्न सवारी चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट