सुनसरी, झापा, बर्दिया र रामेछापमा भएका छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु
आज देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालकसहित चार जनाको मृत्यु भएको छ । सुनसरी, झापा र बर्दियामा मोटरसाइकल तथा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना र रामेछापमा ट्रकको ठक्करबाट एक पैदलयात्री बालकको मृत्यु भएको हो ।
१. सुनसरीमा मोटरसाइकल दुर्घटना: २१ वर्षीय यादवको मृत्यु
सुनसरीको कोशी गाउँपालिका–७ केराबारीस्थित सडकमा म.प्र. ०१–००५ प ८३६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ बस्ने २१ वर्षीय शिवनन्दन यादवको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा निधन भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
२. झापामा स्कुटर दुर्घटना: धादिङका ३० वर्षीय तामाङको ज्यान गयो
झापाको कमल गाउँपालिका–२ छलफल चोकस्थित सडकमा केर्खाबाट समयगडतर्फ जाँदै गरेको मे. ११ प १६१८ नम्बरको स्कुटर बिहीबार साँझ अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा स्कुटरमा सवार धादिङको थाक्रे गाउँपालिका–११ घर भई हाल कमल गाउँपालिका–६ बस्ने ३० वर्षीय राजन तामाङको मृत्यु भएको छ । निम्स अस्पताल दमकमा उपचारका क्रममा उनको मृत्यु भएको हो । घाइते भएका स्कुटर चालकको भने बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।
३. बर्दियामा मोटरसाइकल दुर्घटना: २५ वर्षीय थारूको मृत्यु
बर्दियाको राजापुर नगरपालिका–५ पहाडीपुरस्थित सडकमा बालाबजारबाट राजापुरतर्फ आउँदै गरेको भे. २ प ९३४३ नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजापुर नगरपालिका–८ कोहली बस्ने २५ वर्षीय अजय थारू रहेका छन् । नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो । मोटरसाइकलमा सवार घाइते अन्य एक जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
४. रामेछापमा ट्रकको ठक्करबाट ४ वर्षीय बालकको घटनास्थलमै मृत्यु
रामेछापको उमाकुण्ड गाउँपालिका–२ देउरालीस्थित सडकमा बा.प्र. ०१–००६ ख ७७०८ नम्बरको ट्रकको ठक्करबाट एक पैदलयात्री बालकको विभत्स मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पस्मुरी तामाङका ४ वर्षीय छोरा नविन तामाङ रहेका छन् । शुक्रबार बिहान भएको उक्त दुर्घटनामा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस