Techie IT
२०८३ असार ३०, मंगलबार

आज सडक दुर्घटनामा पाँच जनाको मृत्यु


आज देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। सुनसरी, महोत्तरी, कास्की र रूपन्देहीमा भएका यी दुर्घटनामा दुई जना घाइते भएका छन्।

सुनसरीको इटहरी उपमहानगरपालिका-२० स्थित सडकमा बा.१ ञ १६५१ नम्बरको स्कार्पियो गाडी अनियन्त्रित भई गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा चालक धरान उपमहानगरपालिका-१३ का ३२ वर्षीय बिर्ख बहादुर राई र गाडीमा सवार धरान-१६ का ४९ वर्षीय सुमन आचार्य रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

महोत्तरीको बर्दिबास नगरपालिका-८ स्थित सडकमा ज.८ प ५२८५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ५० वर्षीय टिक बहादुर आलेको सोमबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका आलेको शुभ स्वास्तिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारका लागि न्यूरो अस्पताल जनकपुर पठाइएको छ।

कास्कीको मादी गाउँपालिका-५ गजेडाँडास्थित सडकमा ग.११ प ८९४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार मादी-७ घुमारे चोकका ५७ वर्षीय टेक बहादुर मल्ल रहेका छन्। गम्भीर घाइते मल्लको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका-९ तिनकुनेस्थित सडकमा लु. ७८ प ७४१७ नम्बरको स्कुटर अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवल-९ एकता पथका २१ वर्षीय रिवाज श्रेष्ठ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको चौराह अस्पताल प्रालिमा उपचारका क्रममा मृत्यु भएको हो।

सबै दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट