सवारी दुर्घटनाको कहर: तीन जिल्लामा पाँच जनाले गुमाए ज्यान
झापा, पाल्पा र कपिलवस्तुका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ।
झापाको भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकै कारको ठक्करबाट भद्रपुर-९ की ९२ वर्षीया धनमाया खड्काको मृत्यु भएको छ। बुधबार बिहान प्र.१-०१-००२ च ०००५ नम्बरको कारले ठक्कर दिँदा गम्भीर घाइते भएकी खड्काको ओमसाई पाथीभरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ।
यसैगरी पाल्पाको पूर्वखोला गाउँपालिका-१ तामाखानीस्थित सडकमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। लुम्बिनी प्रदेश ०१-००५ प ४०४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही गाउँपालिका-१ सामुङगाका २८ वर्षीय दिमस सारूको मृत्यु भएको प्रहरीले जनाएको छ।
उता कपिलवस्तुको महाराजगंज नगरपालिका-२ गैडहवास्थित सडकमा ना.५ ख २३६४ नम्बरको ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा महाराजगंज-२ का १२ वर्षीय बालक आनन्द कश्यप तथा महाराजगंज-३ का ४६ वर्षीय विजयकुमार गुप्ता र ७५ वर्षीय भोल्लर कुर्मी रहेका छन्।
बुधबार बिहान ट्रकले पैदलयात्री बालक कश्यप तथा साइकलमा गइरहेका गुप्ता र कुर्मीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका तीनै जनाको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस