Techie IT
२०८३ भाद्र २७, शनिबार

तीजमा माइत जाँदै गरेकी महिलाको मोटरसाइकलको चक्कामा दुपट्टा बेरिएर मृत्यु


तीज मनाउन भतिजासँग माइतीघर जाँदै गरेकी एक महिलाको मोटरसाइकलमा दुपट्टा (सल) बेरिएर गम्भीर दुर्घटना हुँदा ज्यान गएको छ।

दाङको शान्तिनगर गाउँपालिका–१ पेदीखोलाबाट माइतीघर सल्यानतर्फ जाँदै गरेकी ३५ वर्षीया जीता केसीको शनिबार दिउँसो सल्यानको त्रिवेणी गाउँपालिका–३ टाट्केस्थित भित्री कच्ची सडकमा दुर्घटना परी मृत्यु भएको हो।

प्रहरीका अनुसार जीता आफ्नै भतिज कृष्ण केसीले चलाएको ‘रा ४ प २४३’ नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन्। ओरालो सडकमा तीव्र गतिमा गुडिरहेको मोटरसाइकलको पछाडिको चक्कामा उनले लगाएको सलवार–सुटको दुपट्टा अचानक बेरिन पुगेको थियो। चक्काले दुपट्टा तानेपछि उनी असन्तुलित भई सडकमा खसेकी थिइन्।

मोटरसाइकल तीव्र गतिमा रहेको र ओरालो बाटो भएका कारण चालक भतिजले सुरुमा घटनाको चाल पाउन सकेनन्। फलस्वरुप, केहीबेर सडकमा लतारिँदा उनको घाँटीमा कपडाले कसी गम्भीर चोट लागेको थियो। पछि मोटरसाइकल रोकेर हेर्दा उनको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

मृतक जीताका २ छोराछोरी छन् भने उनका श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका छन्।

इलाका प्रहरी कार्यालय लुहामका प्रहरी नायब निरीक्षक मानबहादुर घर्तीले घटनाको प्रकृति हेर्दा आवश्यक सावधानी अपनाउन नसक्दा गम्भीर दुर्घटना हुन पुगेको बताएका छन्। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट