टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
बझाङको बुंगल नगरपालिका–१०, टुमेडामा सोमबार बिहान अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।
टुमेडा गाउँबाट हिनगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ‘ब्रेक फेल’ भई अनियन्त्रित हुँदा सडकबाट करिब नौ सय मिटर तल भिरमा खसेको हो । दुर्घटनामा परी बुंगल नगरपालिका–१० की ४० वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महराको घटनास्थलमै ज्यान गएको पुष्टि भएको छ ।
अटोमा चारदेखि पाँच जना सवार रहेको अनुमान गरिएको छ । दुर्घटनालगत्तै एक बालक बेपत्ता रहेकाले उनको खोजी कार्य भइरहेको छ ।
अत्यन्तै विकट तथा भिरालो स्थानमा दुर्घटना भएकाले प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरी टोली घटनास्थलमा पुगेपछि मात्र दुर्घटनाको कारण र अन्य विस्तृत विवरण खुल्ने प्रहरीको भनाइ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस