Techie IT
२०८२ असार ३०, सोमबार

राईले कफीको बिरुवा बेचेरै कमाए १३ लाख ५० हजार


इलाम । माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । उनले यस वर्षमात्र कफीका बिरुवा बिक्रीबाट रु १३ लाख ५० हजार आम्दानी गर्नुभएको छ ।     
    
पाँच वर्षअघि ‘वाङदेल नर्सरी सेन्टर’ स्थापना गरी कफीका बिरुवा उत्पादन गर्दै आएका राई माङसेबुङकै एक असल बिरुवा उत्पादक किसानका रूपमा परिचित हुनुहुन्छ । फेवाखोला नजिकै गजुरमुखी–इभाङ–चतुरे सडकको छेउमा पाँच रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आउनुभएको छ । यस वर्ष उनले ४५ हजार कफीका बिरुवा बिक्री गरिसकेका छन् ।

कफीको बिरुवा उत्पादन गर्न थालेपछि नर्सरीमै बिरुवा लिन आउने गरेको उनले बताए । कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले कफीको बिरुवा उत्पादनलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

कफीको बिरुवा इलामकासँगै पूर्वको सङ्खुवासभा र भोजपुर जिल्ला तथा छिमेकी मुलुक भारतको सिक्किमसम्म लैजाने गरेका छन् । बिरुवा विभिन्न पालिका, वडा कार्यालय, फार्म र किसानले खरिद गरी लैजाने गरेको उनको भनाइ छ ।     
    
“बिरुवा उत्पादन गर्न खासै धेरै मेहेनत र समय पनि लाग्दैन”, उनले भने, “यहाँ उत्पादित बिरुवा इलाम तथा बाहिरसमेत जाने गरेको छ ।” कफीको बिरुवा प्रतिगोटा रु ३० का दरले नर्सरीबाटै बिक्री भएको उनले बताएका छन् ।

राईले नर्सरीमा कफीमात्र होइन, अरु वनपैदावार बिरुवासमेत उत्पादन गर्दै आएका छन् । उनको नर्सरीमा लाम्पाते, सिमल, पानीसाज, खमारी, उतिसलगायत वनपैदावार र आँप, लिची, कटहरलगायत फलफूलका बिरुवा पनि उत्पादन हुँदै आएको छ । वनपैदावार र फलफूलको बिरुवा प्रतिगोटा रु ४० का दरले नर्सरीबाटै बिक्री हुने गरेको उनले बताए ।

“कफीको बिरुवालाई पहिलो प्राथमिकता दिएको छु । अन्य वनपैदावार र फलफूलका बिरुवा पनि छन्”, उनले भने, “एकै ठाउँमा आफूलाई चाहिएको जति बिरुवा पाइने भएपछि ग्राहकलाई पनि सजिलो भएको छ ।” बिरुवा स्याहारसुसार तथा उखेल्ने र बिक्री गर्ने काममा राजेश आफैँ खट्नुहुन्छ । छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले बिरुवा उत्पादनमा जोड दिएको उनको भनाइ छ ।

उनको नर्सरी फार्मलाई कोशी प्रदेश सरकारको पनि राम्रै सहयोग मिलेको छ । दुई वर्षअघि कृषि ज्ञान केन्द्र इलाममार्फत नर्सरी प्रवर्द्धनका लागि उनले लागत साझेदारीमा रु दुई लाख अनुदान पाउनुभएको थियो । साझेदारीमा व्यवस्थित टनेल निर्माण गरिएको उनले बताए । कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कानुसार इलाममा एक सय ३५ हेक्टर क्षेत्रमा कफीको व्यावसायिक खेती हुँदै आएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट