पोखरा विश्वविद्यालयद्वारा ललितपुरमा पहिलो आंगिक क्याम्पस सञ्चालन

पोखरा विश्वविद्यालयले ललितपुरको च्यासलमा नयाँ आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ। पोखरामा चार आंगिक क्याम्पस सञ्चालनमा रहेका बेला यस वर्षदेखि विश्वविद्यालयले श्रमिक शान्ति क्याम्पसलाई आंगिक क्याम्पसको रूपमा सञ्चालनमा ल्याएको हो।
यो पोखरा विश्वविद्यालयले काठमाडौं उपत्यकामा सञ्चालनमा ल्याएको पहिलो आंगिक क्याम्पस हो।
विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीका अनुसार विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार उक्त क्याम्पस सञ्चालनमा ल्याइएको हो।
श्रमिक शान्ति क्याम्पस यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सामुदायिक क्याम्पस थियो। “क्याम्पससँग सहमति गरेर पोखरा विश्वविद्यालय अन्तर्गत ल्याइएको हो,” जोशीले भने, “अब श्रमिक शान्ति क्याम्पस पूर्ण रूपमा पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस बनेको छ।”
उनका अनुसार त्रिभुवन विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू स्थगित गरिएका छन्। यस वर्षदेखि त्रिवि अन्तर्गतका नयाँ भर्ना नलिए पनि हाल अध्ययनरत विद्यार्थीले भने आफ्नो कोर्स त्रिवि अन्तर्गत नै पूरा गर्न पाउनेछन्।
तर, व्यवस्थापन र आगामी शैक्षिक कार्यक्रम भने पोखरा विश्वविद्यालयले नै सञ्चालन गर्नेछ। “त्रिविका कार्यक्रमहरू स्थगन गरिसक्यौं। अब पोखरा विश्वविद्यालयका कार्यक्रम सञ्चालन हुन्छन्,” जोशीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
विश्वविद्यालयका अनुसार नयाँ क्याम्पसमा हालका लागि तीन स्नातक तहका कार्यक्रम सञ्चालन हुनेछन् —
ब्याचलर अफ ल (BALLB)
ब्याचलर अफ कम्प्युटर सिस्टम्स एन्ड इन्फर्मेसन टेक्नोलोजी (BSc CSIT)
ब्याचलर अफ आर्टिफिसियल इंटेलिजेन्स एन्ड डाटा साइन्स (BAIDS)
यी कार्यक्रमहरू सेमेस्टर प्रणालीमा सञ्चालन हुनेछन्। ८० प्रतिशत विद्यार्थीले शुल्क तिरेर र २० प्रतिशतले छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन्। चार वर्षे पाठ्यक्रममा ५ लाख रुपैयाँभन्दा कम शुल्कमा अध्ययन सक्न सकिने विश्वविद्यालयले जनाएको छ।
छात्रवृत्तिमा सामुदायिक विद्यालयका विद्यार्थी, दुर्गम, सिमान्तकृत र द्वन्द्वपीडित विद्यार्थीलाई प्राथमिकता दिइनेछ। मानविकी संकायका डिन सुरेन्द्र तिवारीका अनुसार छात्रवृत्तिका लागि प्रवेश परीक्षा (इन्ट्रान्स) लिइनेछ र प्रत्येक सेमेस्टरका टपर विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गरिनेछ।
क्याम्पसमा भर्ना प्रक्रिया सुरु भइसकेको छ। आवेदन कात्तिक २६ गतेसम्म दिन सकिनेछ भने कात्तिक २८ गते प्रवेश परीक्षा हुने जनाइएको छ।
पोखरा विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका निर्देशक दिपाञ्जल श्रेष्ठका अनुसार एआई (Artificial Intelligence) र डाटा साइन्सका कार्यक्रमहरू नेपालकै वर्तमान आवश्यकता र बजार मागअनुसार सञ्चालन गर्न लागिएको हो।
यो वर्ष स्नातक तहका कार्यक्रम प्रारम्भ गरिए पनि, विश्वविद्यालयले आगामी वर्षदेखि स्नातकोत्तर तहका कार्यक्रमहरू पनि सञ्चालन गर्ने तयारी गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस