माओवादी नेताहरूको मन्त्री घिसिङसँग माग : सडक–विद्युत–पुल निर्माणमा सहयोग होस्

नेकपा माओवादी केन्द्रका युवा नेता भगतसिंह ठेकेरे बोहरा र नरबहादुर विष्टले जिल्लाको विकास निर्माणका कार्यका लागि भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, उर्जा, जलस्रोत तथा सिचाई मन्त्री कुलमान घिसिङसँग भेटघाट गरी आज लिखित माग पेश गरेका छन्।
बोहरा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य र अपिहिमाल गाउँपालिकाका अध्यक्ष हुन् भने विष्ट हाल वाइसिल नेपालका उप महासचिव रहेका छन्।
अध्यक्ष बोहोराले अपिहिमाल गाउँपालिकाको विद्युतिकरणका लागि ठेक्का भए पनि ठेकेदारले समयमै काम नगरेको र जनताले समस्या भोग्नुपरेको बताएका थिए । उनले पालिकासम्मको सडक निर्माणका लागि तत्काल पहल गर्न पनि मन्त्री घिसिङसँग अनुरोध गरेका छन् । जवाफमा मन्त्री घिसिङले पालिकासम्मको सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने पहल गर्ने र विद्युतिकरण ढिला भइरहेको विषय सचिवालयमा बुझेर समाधान गर्ने निर्देशन दिएका छन्।

यस्तै, युवा नेता नरबहादुर विष्टले टिंकर सडकमा बजेट अभावका कारण सडक निर्माण सुस्त भएको र जनताले दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको बताएका छन्। उनले बिटुले–परिबगर–मकरीगाड सडक खण्ड ट्र्याक खुलेको २० वर्षसम्म स्तरोन्नती नहुँदा समस्या भएको भन्दै मन्त्रीसँग पहल गर्न अनुरोध गरेका छन् ।
त्यसैगरी, चमेलिया नदीमा पक्की पुल निर्माण गर्न र महाकाली करिडोर अन्तर्गत लेकम गाउँपालिका–२ मा पुल निर्माणका लागि विष्टले माग राखेका थिए । मन्त्री घिसिङले निवेदन विस्तृतमा पढेर सम्भव हुने कार्यमा मन्त्रालयबाट सहयोग गर्ने बताएका छन्।


तपाईको प्रतिक्रिया दिनुहोस