Techie IT
२०८३ भाद्र २४, बुधबार

ह्विप उल्लंघन गर्ने राप्रपाका ५ सांसदलाई पदमुक्त गर्न पत्र दर्ता


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वाग्मती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लंघन गर्ने पाँच जना सांसदलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा औपचारिक पत्र दर्ता गराएको छ।

मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत नदिने ती असन्तुष्ट सांसदहरूलाई कारबाही गरी पदमुक्त गर्न माग गर्दै संसदीय दलका प्रमुख सचेतक डम्बरबहादुर तामाङले प्रदेशसभाका उपसभामुखसमक्ष पत्र बुझाएका हुन्। उक्त पत्र प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको संसदीय दलका नेता उद्धव थापाले जानकारी दिएका छन्।

कारबाहीमा पर्ने सांसदहरूमा भुवकुमार पाठक, कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामा रहेका छन्।

मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा राप्रपाभित्र स्पष्ट रूपमा दुई धार देखिएको थियो। संसदीय दलका नेता उद्धव थापाले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै अनिवार्य उपस्थित भई पक्षमा मतदान गर्न ह्वीप जारी गरेका थिए। तर, निवर्तमान सभामुख तथा राप्रपा महामन्त्री भुवन पाठकसहित पाँचै जना सांसदले उक्त ह्विपको खुलेआम उल्लंघन गरेका थिए।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निर्देशनविपरीत आफूहरू सरकारमा सहभागी नहुने अडान लिँदै आएका उनीहरूले ह्वीप अवज्ञा गरेका थिए। यसअघि भदौ १८ गते बसेको संसदीय दलको बैठकले उनीहरूलाई ७२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिए पनि तोकिएको समयसीमाभित्र स्पष्टीकरण नबुझाएपछि कारबाहीको प्रक्रिया अघि बढाइएको हो।

पार्टी विधान र राप्रपा संसदीय दलको विधान, २०७९ बमोजिम उनीहरूलाई प्रदेशसभा सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको नेता थापाले स्पष्ट पारेका छन्। प्रदेशसभा सचिवालयमा पठाइएको पत्रमा ह्विप उल्लंघन गर्ने सदस्यहरूलाई पदमुक्त गरी सोको जानकारी प्रदेशसभालाई गराउन माग गरिएको छ।

१२ सांसद रहेको वाग्मती प्रदेशसभामा मुख्यमन्त्री थापा मगरको सरकारलाई समर्थन गर्ने विषयमा राप्रपाभित्र विभाजन आएको थियो। नेता उद्धव थापानिकट सात सांसद सरकारको पक्षमा उभिँदा भुवन पाठकनिकट पाँच सांसद भने विपक्षमा उभिएका थिए। पाँच सांसदलाई पदमुक्त गर्न गरिएको पत्राचारसँगै राप्रपाभित्रको आन्तरिक कलह अब प्रदेशसभाको कानुनी र औपचारिक प्रक्रियामा प्रवेश गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट