Impact of Global Warming
प्रशान्त महासागरको टुभालुको सम्पूर्ण जनसंख्या अस्ट्रेलिया सर्दै
वैज्ञानिकहरूको भनाइ अनुसार, २५ वर्षभित्र टुभालुको अधिकांश जमिन डुबानमा पर्नेछ भने ८० वर्षभित्र यो देश पूर्ण रूपमा पानीमुनि पर्न सक्नेछ।

प्रशान्त महासागरमा अवस्थित टुभालु देशका सबै नागरिकहरू अस्ट्रेलिया सर्न लागेका छन्। यो विश्व इतिहासमा पहिलो पटक हो जब कुनै देशका सम्पूर्ण जनताले भिसासहित अर्को देशमा स्थायी बसोबासका लागि सर्ने तयारी गरिरहेका छन्।
टुभालुमा समुद्री सतह बढेसँगै डुबानको जोखिम अत्यधिक बढेको छ। लगभग ११ हजार जनसंख्या भएको टुभालु ९ वटा प्रवाल र एटोलबाट बनेको सानो टापु देश हो। समुद्री सतहबाट यसको उचाइ मात्र १६ फिट भएकाले जलवायु परिवर्तनको कारण यो देश सबैभन्दा बढी जोखिममा परेको छ।

वैज्ञानिकहरूको भनाइ अनुसार, २५ वर्षभित्र टुभालुको अधिकांश जमिन डुबानमा पर्नेछ भने ८० वर्षभित्र यो देश पूर्ण रूपमा पानीमुनि पर्न सक्नेछ। अहिले नै द्वीपसमूहका नौ एटोलमध्ये दुई डुबिसकेका छन्। नासाको समुद्री सतह परिवर्तन टोलीले सन् २०२३ मा समुद्री सतह अघिल्लो ३० वर्षको तुलनामा १५ सेन्टिमिटर बढेको तथ्यांक सार्वजनिक गरेको छ।
यसलाई मध्यनजर गर्दै टुभालु र अस्ट्रेलियाबीच सन् २०२३ मा ‘फालेपिली युनियन’ नामक सम्झौता भएको छ। यस सम्झौताअन्तर्गत प्रत्येक वर्ष २८० जना टुभालुवासीलाई अस्ट्रेलियामा स्थायी बसोबासका लागि अवसर दिइनेछ। उनीहरूलाई स्वास्थ्य सेवा, शिक्षा, आवास र रोजगारीका पूर्ण अधिकार प्राप्त हुनेछन्। आवेदन प्रक्रिया केही चरण पूरा भइसकेको छ।
अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले आप्रवासन कार्यक्रममा टुभालुवासीहरूलाई सम्मानका साथ बसोबास गराउने प्रतिबद्धता जनाएका छन्। साथै, यूएनएसडब्ल्यू सिड्नीको कलडोर सेन्टरका अनुसन्धानकर्ता लका जेन म्याकआडमले आगामी दशकभित्र टुभालुको जनसंख्याको करिब ४० प्रतिशत मानिस अस्ट्रेलियामा स्थानान्तरण हुने बताए।
टुभालु सरकारले विश्व समुदायसँग जलवायु परिवर्तनको समस्या समाधानमा तत्काल ध्यान दिन आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस