पूर्वी नेपालमा अझै एक–दुई दिन मनसुन सक्रिय रहने, पाँच प्रदेशमा बर्षा हुने

मौसमविद्हरूका अनुसार आगामी एक–दुई दिनसम्म मनसुन सक्रिय रहने र विशेषगरी पूर्वी नेपालमा केन्द्रित भएर वर्षा बढी हुने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार, आइतबार र सोमबारको तुलनामा मंगलबार अझै धेरै पानी पर्न सक्ने देखिएको छ।
“मनसुन सक्रिय छ र यो पूर्वमा बढी केन्द्रित छ,” उनले भने, “आज र भोलिको भन्दा पर्सि राम्रै पानी पर्ने सम्भावना छ।” मनसुन सुरु भएदेखि अधिकांश स्थानमा हल्का र मध्यम वर्षा भए पनि तराईमा लामो समयसम्म वर्षा परेको थिएन । तर अगस्टको सुरुदेखि देशभर वर्षा भइरहेको छ। आगामी दिनमा वर्षाको मात्रा र प्रभाव क्षेत्र दुवै बढ्ने अनुमान छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहँदा पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको विभागले जनाएको छ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।
दिउँसो: देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका धेरै स्थानमा र बाँकी पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना। कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्छ।
राति: देशभर सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा र अन्य भूभागका केही ठाउँमा मध्यम वर्षा हुने सम्भावना। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना।
विभागले मनसुनको सक्रिय अवधिमा सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई पछिल्लो मौसमी सूचना निरन्तर अवलोकन गर्न अनुरोध गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस