Techie IT
२०८२ श्रावण ३०, शुक्रबार

थाइल्याण्डमा पहिलाे पटक भेटियो बैजनी रंगको दुर्लभ गंगटो

सन् २०१२ को नेशनल ज्योग्राफिक रिपोर्टका अनुसार, जर्मनीको सेन्केनबर्ग प्राणीविज्ञान संग्रहालयका वैज्ञानिक हेन्ड्रिक फ्रिट्यागले यो रंग ‘संयोगवश’ विकसित भएको हुनसक्ने बताएका थिए।


प्रकृतिले समय–समयमा दुर्लभ र अद्वितीय दृश्यहरू देखाउँछ। यस्तै एउटा अनुपम दृश्य हालै थाइल्याण्डमा देखिएको छ।

थाइल्याण्डको काइङ क्राचन राष्ट्रिय निकुञ्जमा सेतो र बैजनी रंगको दुर्लभ गंगटो फेला परेको छ, जुन विश्वमै यसको एक मात्र प्रकार मानिन्छ। पार्कका कर्मचारीहरूले खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैलाई अचम्ममा पारेको छ।

पार्क अधिकारीहरूले यसलाई “प्रकृतिको अमूल्य उपहार” भन्दै यसको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । उनका अनुसार यो किङ क्र्याब वा ‘सिरिन्धर्न क्र्याब’ दुर्लभ झरना–केकडा हो, जसको अनौठो रंगले यसलाई विशेष बनाएको छ।

यो खोज जैविक विविधता र इकोसिस्टम संरक्षणका दृष्टिले महत्वपूर्ण रहेको पार्क प्रशासनको भनाइ छ । उनीहरूका अनुसार यस प्रजातिको उपस्थिति स्वस्थ वन वातावरण र वन्यजन्तु संरक्षणमा काइङ क्राचन राष्ट्रिय निकुञ्जको प्रयासलाई प्रमाणित गर्छ ।

‘किङ क्र्याब’ जसलाई सिरिन्धर्न क्र्याब पनि भनिन्छ, थाइल्याण्डकी राजकुमारी महाचक्री सिरिन्धर्नको सम्मानमा नामाकरण गरिएको हो। यो पांडा–केकडा परिवारसँग सम्बन्धित भए पनि यसको बैजनी र सेतो रंग निकै दुर्लभ मानिन्छ।

सन् २०१२ को नेशनल ज्योग्राफिक रिपोर्टका अनुसार, जर्मनीको सेन्केनबर्ग प्राणीविज्ञान संग्रहालयका वैज्ञानिक हेन्ड्रिक फ्रिट्यागले यो रंग ‘संयोगवश’ विकसित भएको हुनसक्ने बताएका थिए। उनका अनुसार, यस प्रकारको रंग केवल भिजुअल सिग्नलका रूपमा विकसित भएको हुन सक्छ, जसको कुनै विशेष जैविक कार्य नहुन पनि सक्छ।

सामान्यतया केकडाहरू खैरो, रातो–खैरो, नीलो वा हरियो रंगका हुन्छन्, जसले तिनीहरूलाई वातावरणमा लुकी बस्न सहयोग पुर्‍याउँछ। केही प्रजातिमा रातो, सेतो, कालो–सेतो (पांडा क्र्याब), सुन्तला वा पहेँलो रंग पनि देखिन्छ, जसले लुकाउन, शिकारीबाट जोगिन वा प्रजननका लागि साथी आकर्षित गर्न मद्दत गर्छ।

थाइल्याण्डमा फेला परेको यो बैजनी गंगटो भने आफ्नै अद्वितीय सौन्दर्य र दुर्लभताको कारण संसारभर चर्चामा आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट