शरदयाममा धवलागिरि आरोहणका लागि २४ जनाले लिए अनुमति

सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन्। विश्वको सातौँ अग्लो (८,१६७ मिटर) यो हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ।
पर्यटन विभागका अनुसार धवलागिरि आरोहण अनुमति लिनेबाट अहिलेसम्म करिब ५० लाख ७१ हजार रुपैयाँ सलामी दस्तुर संकलन भएको छ। शरदयाममा सगरमाथाबाहेक आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने विदेशीले प्रतिआरोही ९०० डलर दस्तुर तिर्नुपर्छ। अन्य साना हिमालका लागि भने न्यूनतम १२५ देखि अधिकतम ४०० डलरसम्म दस्तुर निर्धारण गरिएको छ।
विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गोरखामा रहेको ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि ३७४ जनाले अनुमति लिएका छन्। शरदयामका आरोहीहरूको पहिलो रोजाइमा मनास्लु पर्छ भने धवलागिरि दोस्रो स्थानमा रहेको छ।
धवलागिरि गाउँपालिका–४ का वडा सदस्य तथा इटली आधार शिविरका होटल व्यवसायी हरिप्रसाद तिलिजाका अनुसार आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगीहरू आधार शिविर पुग्न थालेका छन्। यस वर्ष आरोहण टोली मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविरतर्फ गएका छन्। धवलागिरि गाउँपालिकाको मुदी–बगर हुँदै जाने पदमार्ग बिग्रिएको र टाढा पर्ने भएकाले मुस्ताङको बाटो रोजिएको हो।
गत वसन्तयाममा दुई समूहका १५ जनाले धवलागिरि आरोहण अनुमति लिएका थिए। तीबाट ३६ लाख ९१ हजार २६० रुपैयाँ राजस्व संकलन भएको थियो। सन् २०२४ को शरदयाममा एक समूहका १४ पुरुषले आरोहण अनुमति लिएका थिए, तर रसियाका पाँच जना हिउँपहिरोमा परि ज्यान गुमाएका थिए।
छिनछिनमा बदलिने मौसम धवलागिरि आरोहणको प्रमुख चुनौती मानिन्छ। अन्य हिमालको तुलनामा यो हिमाललाई जोखिमपूर्ण र साहसिक मानिन्छ। सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गर नेतृत्वको टोलीले पहिलोपटक सफल आरोहण गरेको इतिहास छ। डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस