चक्रवाती आँधी ‘मोन्था’ आन्ध्र प्रदेश पार गर्दै कमजोर हुँदै दक्षिणतर्फ सर्यो
चक्रवाती आँधी ‘मोन्था’ मंगलबार राति भारतको आन्ध्र प्रदेश तट हुँदै स्थलीय क्षेत्रमा प्रवेश गरेको छ। भारतको मौसम विभागका अनुसार यो आँधी मंगलबार साँझ काकीनाडा र मछलीपट्टनमबीचको क्षेत्र हुँदै दक्षिणतिर प्रवेश गरेको हो।
मंगलबार साँझ करिब ७ बजे काकीनाडा नजिकै जमिनसँग ठोक्किँदा ‘मोन्था’ले भीषण वर्षा र तीव्र हावा चलाएको थियो। यस क्रममा आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा, विद्युत् अवरोध र सम्पत्ति नोक्सानी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मंगलबार साँझसम्म यो आँधीले आन्ध्र प्रदेशका धेरै भागमा वर्षा गराएको र स्थानीय प्रशासनले तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ।
भारतको मौसम विभाग (IMD) का अनुसार मंगलबार रातिपछि यो आँधी केही कमजोर हुँदै दक्षिणतर्फ सर्दै गएको छ। सोमबार उत्तर तटीय आन्ध्र प्रदेशमा विनाश मच्चाएपछि वर्षाको गतिविधि अहिले दक्षिण तटीय जिल्लाहरू एसपीएसआर नेल्लोर र प्रकाशम तर्फ सरेको जनाइएको छ।
आन्ध्र प्रदेश भारतको दक्षिणपूर्वी तटमा अवस्थित राज्य हो, जसको दक्षिणमा तमिलनाडु पर्दछ। मौसम विभागका अनुसार अब ‘मोन्था’को प्रभाव तमिलनाडु र बंगालको दक्षिणी समुद्री तट तर्फ फैलिँदै जाने अनुमान गरिएको छ।
हाल पनि आन्ध्र प्रदेशका केही क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षा जारी रहेको र समुद्रमा ठूलो छाल उठिरहेको बताइएको छ। भारतीय मौसम विभागले मछलीपट्टनम, नेल्लोर, प्रकाशम र आसपासका जिल्लामा बसोबास गर्ने स्थानीय बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस