Techie IT
२०८२ पौष २७, आइतबार

काठमाडौंसहित देशका मध्य र पूर्वी भूभागमा झरी लम्बियो, भोलिदेखि मौसम खुल्ने अनुमान


काठमाडौंसहित देशका मध्य र पूर्वी भूभागमा जारी झरी अझै लम्बिएको छ। यसअघि बागमती, गण्डकी र तराईका जिल्लाहरूमा आज बिहानसम्म मौसम खुल्ने अनुमान गरिएको भए पनि झरी निरन्तर रहँदा मौसममा सुधार आउन ढिलो भएको हो।

मौसमविद् उज्वल उपाध्यायका अनुसार मौसमी पूर्वानुमानका तीनवटा मोडेलको संयुक्त विश्लेषणले यी प्रदेशहरूमा झरी लम्बिने संकेत देखाएको छ।

झरी लम्बिनुको मुख्य कारण

उपाध्यायका अनुसार, बिहीबारदेखि कमजोर बनेको मोन्था आँधी सोमबारदेखि सक्रिय रहेको तर पूर्ण रूपमा नबाहिरिएको पश्चिमी वायु प्रणालीसँग मिश्रित भएर एक ठूलो संयुक्त मौसमी प्रणाली बनेको हो। यसले देशको विस्तृत भूभाग ढाकेको छ।

यो प्रणाली हिजो रातिसम्म कोसी हुँदै बंगालको खाडीतर्फ सर्ने अनुमान गरिएको थियो। तर, थाइल्यान्डको दक्षिणी भूभागमा बनेर हाल बंगलादेशमा अवस्थित नयाँ चक्रवातीय प्रणालीले यसलाई उल्टो दिशातर्फ (उत्तर–पश्चिमतर्फ) धकेल्यो, जसका कारण प्रणाली नेपालमै अड्किएको छ।

त्यसबेला अरब सागरबाट अर्को सक्रिय प्रणाली गुजरात–राजस्थान हुँदै उत्तर–पूर्वतर्फ अघि बढिरहेको हुँदा, हाल नेपालमा पश्चिम, दक्षिण र पूर्व तीनै दिशाबाट जलवाष्पयुक्त हावा प्रवेश भइरहेको छ।

यसले गर्दा गण्डकी, बागमती र कोसी प्रदेशका माथिल्लो भागमा वर्षा गराउने बादल स्थिर बनेर बसेका छन्, जसका कारण लगातार झरी परिरहेको छ। हावामा जलवाष्पको मात्रा अत्यधिक भएकाले वर्षा रोकिएको बेला पनि शीत परेजस्तो मसिनो पानीका कण झर्ने अवस्था देखिएको छ।

अब के हुन्छ?

मौसमविद् उपाध्यायका अनुसार अब ठूलो वर्षा होइन, हल्का झरी मात्र पर्ने सम्भावना छ। बाढीको जोखिम अत्यन्त न्यून रहेको उनले बताए। “अहिले धेरै प्रणाली मिसिएर बनेको अवस्था भएकाले यो प्रणाली कति बेर रहन्छ भन्ने ठ्याक्कै भन्न सजिलो छैन,” उनले भने, “तर बादलको घनत्व क्रमशः घट्दै गएकोले अबको १२ घण्टामा मौसममा उल्लेखनीय सुधार आउने सम्भावना छ।”

उनका अनुसार आज साँझसम्म झरी प्रायः रोकिने र भोलि बिहानदेखि देशका अधिकांश भूभागमा घाम लाग्ने सम्भावना धेरै छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट