यस वर्षको हिउँदमा वर्षा कम र बढी गर्मी हुने विभागको आकलन
जल तथा मौसम विज्ञान विभाग (DMH) ले यस हिउँद (मङ्सिर १५ देखि फागुन १६) मा देशका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने र अधिकतम तथा न्यूनतम दुवै तापक्रम औसतभन्दा बढी रहने आकलन सार्वजनिक गरेको छ।
विभागका अनुसार, सुदूरपश्चिम, कर्णाली प्रदेशका दक्षिणी भेग, लुम्बिनीका पश्चिमी भेग, बाग्मतीका दक्षिणी भेग, मधेसका उत्तरी भेग र कोशीका मध्य तथा पूर्वी भेगमा औसतभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ। यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका मध्य भेगसहित अन्य केही मध्य र पूर्वी क्षेत्रहरूमा पनि ४५ देखि ५५ प्रतिशतसम्म कम वर्षाको सम्भावना रहेको विभागका सूचना अधिकारी दिनकर कायस्थले बताएका छन् ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भेग तथा गण्डकीका उत्तर-पश्चिम भेगमा भने वर्षा औसत, औसतभन्दा कम वा बढी हुने सम्भावना लगभग बराबर छ।
तापक्रमका सन्दर्भमा, यसपालिको हिउँदमा गर्मी बढ्ने देखिएको छ। अधिकतम तापक्रम देशका अधिकांश भूभागमा औसतभन्दा बढी हुने आकलन गरिएको छ, जसमा गण्डकी, बाग्मती र कोशी प्रदेशका केही उत्तरी तथा दक्षिणी भेगमा अधिकतम तापक्रम ५५ देखि ६५ प्रतिशतसम्म बढी हुने सम्भावना रहेको छ।
कर्णाली, लुम्बिनी, कोशी, बाग्मती र गण्डकी प्रदेशका बाँकी भूभागहरूमा पनि ४४ देखि ५५ प्रतिशतसम्म बढी तापक्रम हुने सम्भावना छ। यद्यपि, लुम्बिनी र मधेस प्रदेशका दक्षिणी भेगमा भने अधिकतम तापक्रम औसत, कम वा बढी हुने सम्भावना समान रहेको विभागले जनाएको छ।
न्यूनतम तापक्रमको हकमा, विभागले देशभर नै औसतभन्दा बढी हुने सम्भावना रहेको जनाएको छ। विशेषगरी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बाग्मती, मधेस र कोशी प्रदेशका धेरैजसो भेगमा न्यूनतम तापक्रम औसतभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागले स्पष्ट पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस