पश्चिमी न्यून चापीय प्रणाली कमजोर भएपछि देशभर मौसम खुल्यो
मङ्गलबार र बुधबार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा देशका धेरै स्थानमा वर्षा र हिमपात भई प्रभावित बनेको जनजीवन आजदेखि क्रमशः सामान्य भएको छ। वर्षा र हिमपातका कारण ठाउँ–ठाउँमा यातायात अवरुद्ध हुनुका साथै दैनिक गतिविधिमा समेत असर परेको थियो।
हिमाली तथा उच्च पहाडी जिल्लाका सडकमा बाक्लो हिउँ परेपछि रोकिएको आवागमन आज साँझसम्ममा हिउँ पन्छाएर सञ्चालनमा ल्याइएको छ। सशस्त्र प्रहरीले मुस्ताङ जाने मार्गमा परेको हिउँसमेत हटाएको जनाएको छ। अन्य विभिन्न क्षेत्रमा पनि हिउँले अवरुद्ध बनेका राजमार्ग सुरक्षा निकायको सक्रियतामा खुलाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
हिजो अपराह्नदेखि मौसममा सुधार आएपछि आज बिहानैदेखि घाम लागेको र त्यसले जनजीवन सामान्य बन्दै गएको प्रहरीको भनाइ छ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार प्रणाली बाहिरिएपछि अधिकांश स्थानमा घाम लागे पनि बिहान र बेलुका चिसो कायम रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा भने हल्का हिमपात र वर्षा हुन सक्ने उनले बताए। तर मङ्गलबार र बुधबारको जस्तो अवस्था आइतबारसम्म दोहोरिने सम्भावना नरहेको उनको भनाइ छ।
पछिल्लो प्रणाली विकास हुँदा काठमाडौँ उपत्यकासहित पश्चिम कोशी र मधेस प्रदेशबाहेकका क्षेत्रमा वर्षा र हिमपात भएको थियो। यस पटक सबैभन्दा धेरै वर्षा सुर्खेतमा ४३ मिलिमिटरसम्म मापन गरिएको छ।
आज साँझको मौसम बुलेटिनअनुसार जुम्लामा माइनस ४.५ डिग्री, जोमसोममा शून्य डिग्री र दोलखाको जिरीमा माइनस ०.८ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहेको छ। काठमाडौँमा ४.८, ताप्लेजुङमा ५.९ तथा दिपायलमा ५.५ डिग्री न्यूनतम तापक्रम मापन गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस