हावाहुरीको त्रास कायमै: उदयपुरमा दुईको मृत्यु, आज पनि मौसम बिग्रने चेतावनी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार अपराह्नपछि देशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
यसैबीच, सोमबार आएको शक्तिशाली हावाहुरीका कारण उदयपुरमा दुई जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार कटारी नगरपालिका–८ थलियाटारकी ४९ वर्षीया मीनामाया तामाङको कुटमेरोको हाँगा लागेर मृत्यु भएको हो।
यस्तै, कटारी नगरपालिका–५ तीनकुने चोकस्थित राधाकृष्ण मन्दिर नजिकै सखुवाको रुख ढल्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ।
हावाहुरीका कारण अन्य ६ जना घाइते भएका छन्। घाइते हुनेहरूमा कटारी–८ की २० वर्षीया कमलाकुमारी पुलामी मगर, कटारी–५ का पाँच वर्षीय बिनिशा चौधरी, २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार, लीलबहादुर दनुवार र १६ वर्षीया अस्मिता परियार रहेका छन्।
घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा रिफर गरिएको छ। कटारी–५ का ४६ वर्षीय लीलबहादुर दनुवार र २० वर्षीया कमलाकुमारी पुलामी मगरलाई उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। अन्य चार जनाको भने कटारी अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।
मृतकहरूको शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको छ। हावाहुरीका कारण कटारी क्षेत्रका पहाडी भू–भागमा घरका छाना उड्नुका साथै सामान्य भौतिक क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस