लुम्बिनी र सुदूरपश्चिमका तराईक्षेत्रमा 'हिट वेभ'को चेतावनी
नेपालमा हाल पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभावका कारण मौसममा विविधता देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली र पहाडी भूभागमा बादल लाग्नुका साथै तराई क्षेत्रमा चर्को गर्मीको जोखिम बढेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ। कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका साथै बागमती र गण्डकीका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा पनि आंशिक बदली हुने महाशाखाले जनाएको छ।
मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, खोँच तथा उपत्यकाहरूमा आज 'तातो दिन' हुने प्रक्षेपण गरिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर (लु) चल्ने सम्भावना रहेकाले स्वास्थ्य सतर्कता अपनाउन सुझाव दिइएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना देखिए पनि देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस