Techie IT
२०८३ जेष्ठ १७, आइतबार

आज यी स्थानमा वर्षा हुने, तराईमा हावाहुरीको चेतावनी


काठमाडौं । देशभर हाल पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। यसका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली भएको छ भने केही स्थानमा वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। तराईका अधिकांश क्षेत्रमा भने आंशिक बदली रहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

त्यस्तै, मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ भने लुम्बिनी प्रदेशको तराईसहित अन्य केही क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।

मौसम विभागले वर्षा, चट्याङ्ग र हावाहुरीका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट