नेपालमा मनसुन भित्रिन अझै एक हप्ता लाग्ने
नेपालमा मनसुन भित्रिन अझै करिब एक हप्ता लाग्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मनसुन हाल दक्षिण भारतको केरला र तमिलनाडुमा पुगिसकेको छ र बंगालको खाडी हुँदै नेपालसम्म आइपुग्न एक साता लाग्ने देखिन्छ।
मौसमविद् पौडेलले भने, “यही समयमा मनसुन भित्रिन्छ भन्ने एकिन गरी भन्न सकिँदैन। तर एक हप्ता आसपासमा भित्रिने अनुमान गरिएको छ। तीन-चार दिनमा बंगालको खाडीमा मनसुन पुग्ने देखिन्छ, त्यसपछि नेपालमा आउँदा एक हप्ता आसपास कहिलेकाहीँ केही अगाडि वा पछाडि पनि हुनसक्छ।”
नेपालमा औसतमा जुन १३ मा मनसुन भित्रने गर्छ। तर यसपालि भारतमा निर्धारित औसत मिति जुन १ मा भित्रनुपर्नेमा केही ढिला भित्रिएकाले नेपालमा पनि सामान्यभन्दा ढिलो आउने अनुमान गरिएको छ। "सामान्यतः केरलामा मनसुन आएको एक हप्ताभित्र नेपालमा आउने हो। तर प्रणाली कति सक्रिय हुन्छ, त्यसले गति निर्धारण गर्छ," पौडेलले थपे।
यसपालि मनसुनमा औसतभन्दा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण गरिएको छ। कुनै-कुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टिको सम्भावना पनि रहेको मौसमविद्हरूले जनाएका छन्।
यस मनसुन सिजनमा ५१ हजार परिवारका दुई लाख २६ हजार नागरिक प्रभावित हुने अनुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रतिकार्य राष्ट्रिय योजना तयार गरी लागू गरिसकेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिएकी छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस