Techie IT
२०८३ असोज १८, आइतबार

काभ्रेका जोखिमयुक्त नदी तटीय क्षेत्रमा बाढी र मौसम मापन उपकरण जडान गरिँदै


काभ्रेपलाञ्चोक । वर्षाका कारण हुनसक्ने सम्भावित प्राकृतिक क्षति न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका विभिन्न नदी–तटीय क्षेत्रमा मौसम तथा बाढी मापन केन्द्रहरूलाई व्यवस्थित बनाउन थालिएको छ। विशेष गरी जोखिमयुक्त मानिएका सुनकोशी र रोशी नदी आसपासका क्षेत्रमा जल तथा मौसम विज्ञान विभागले आधुनिक उपकरणहरू जडान तथा व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको हो।

विभागका अनुसार जिल्लाका थप तीन स्थानमा बाढी मापन केन्द्र र एक स्थानमा मौसम मापन केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढेको छ। यस कार्यलाई प्रभावकारी बनाउन विभागले स्थानीय सरोकारवाला निकाय तथा नागरिक समाजसँग आवश्यक छलफल र समन्वयसमेत गरिसकेको छ।

जिल्लाबासीलाई मौसम र बाढीबारे पूर्वजानकारी दिई सतर्क गराउन हाल जिल्लाका ७ स्थानमा मौसम मापन र ३ स्थानमा बाढी मापन उपकरण सञ्चालनमा रहेका छन्। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ हाइड्रोलोजिष्ट विनोद पराजुलीका अनुसार हाल निम्न स्थानहरूमा प्रविधि जडान गरिएको छ:

मौसम मापन केन्द्रहरू: धुलिखेल, खोपासी, नाला, पाँचखाल, मण्डनदेउपुर, दोलालघाट र पचुवारघाट।

बाढी मापन केन्द्रहरू: सुनकोशी नदीअन्तर्गत दोलालघाट र पचुवारघाट तथा पनौती बजार नजिक (पुण्यमाता खोला)।

मनसुनको जोखिमलाई मध्यनजर गर्दै रोशी गाउँपालिका–२ फलामेसाँघुमा मौसम मापन उपकरण थपिने भएको छ। यस्तै, पनौती र नमोबुद्ध नगरपालिकाको सिमाना, रोशी खोला पुल र रोशी–सुनकोशीको सङ्गमस्थल नेपालथोक नजिकको पुलमा बाढी मापन उपकरण थप्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हाइड्रोलोजिष्ट पराजुलीले जानकारी दिएका छन् ।

बाढीको तत्काल पूर्वसूचना दिनका लागि विभागले पनौतीको गोरखनाथ मन्दिर छेउमा परीक्षणका रूपमा 'बाढी चेतावनी बत्ती' (Flood Warning Light) समेत जडान गरेको छ। यो बत्तीले नदीको जलस्तर खतराको तहमा पुग्न लाग्दा संकेत दिनेछ, जसले गर्दा तटीय क्षेत्रका नागरिकले समयमै सुरक्षित स्थानमा सर्न पाउनेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट