Techie IT
२०८३ असार १९, शुक्रबार

मुस्ताङमा भारतीय पर्यटकको ओइरो, पोखरादेखि मुस्ताङसम्मका होटल भरिभराउ


हिमाली जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमनले नयाँ कीर्तिमान कायम गरेको छ । सन् २०२६ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा मात्रै २ लाख २२ हजार ९ सय ९२ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । यो सङ्ख्या सन् २०२५ को सोही अवधिको (९८ हजार ४ सय ८१) तुलनामा १ लाख २४ हजार ५ सय ११ ले बढी हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार पछिल्लो समय मुस्ताङमा भारतीय पर्यटकको आगमन अत्यधिक रूपमा वृद्धि भएको छ । कुल भित्रिएका विदेशी पर्यटकमध्ये ९५ प्रतिशतभन्दा बढी भारतीय नागरिक छन्। उनिहरु मुख्यतः मुक्तिनाथ दर्शनका लागि आउने गरेका हुन् ।

एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तका अनुसार सन् २०२६ को जुन महिनामा मात्रै ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । जसमा सार्क राष्ट्रका ७८ हजार ६७० जना (९८.०२ प्रतिशत) र अन्य राष्ट्रका १ हजार ५८३ जना (१.९७ प्रतिशत) रहेका छन् । गत मे महिनामा ६५ हजार ९९४ पर्यटक मुस्ताङ आएका थिए । सन् २०२५ को जुन महिनामा २० हजार ८६८ पर्यटकले मात्र मुस्ताङ भ्रमण गरेकोमा यस वर्षको जुनमा मात्रै ५९ हजार ३९५ जना बढी पर्यटक भित्रिएका छन् ।

६ महिनाको कुल तथ्याङ्क हेर्दा सार्क राष्ट्रतर्फ २ लाख ८ हजार ११ जना र अन्य राष्ट्रतर्फ १४ हजार ९८१ जनाले मुस्ताङको भ्रमण गरेका छन् । जबकि सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्मको सिङ्गो वर्षभरिमा कुल १ लाख ६१ हजार १४२ विदेशी पर्यटक मात्र मुस्ताङ आएका थिए ।

आफ्नै सवारीमा भारतीय पर्यटक, होटल व्यवसाय चलायमान
मुस्ताङ भित्रिएका भारतीय पर्यटकमध्ये झन्डै ५० प्रतिशत पर्यटक छिमेकी देश भारतबाट आफ्नै निजी सवारीसाधन लिएर मुक्तिनाथ दर्शनका लागि आउने गरेका छन् । भारतीय पर्यटकको यो बाक्लो उपस्थितिले मुस्ताङ मात्र नभई म्याग्दी, बागलुङ र पोखराका होटलसमेत पर्यटकले भरिभराउ भएका छन् । मुस्ताङ आउने अधिकांश भारतीय पर्यटक मुक्तिनाथ दर्शन गरी फर्कने गरेका छन् ।

अर्कातर्फ, तेस्रो मुलुकका पर्यटकहरू भने प्रसिद्ध 'अन्नपूर्ण चक्रिय पदमार्ग' अन्तर्गत मनाङ हुँदै मुस्ताङ भित्रिने गर्छन् । कतिपय भने पोखरा–जोमसोम हवाईमार्ग र बेनी–जोमसोम सडकमार्ग प्रयोग गरेर आउने गरेका छन् । एक्याप लोमान्थाङका अनुसार मुस्ताङ भित्रिने कुल पर्यटकमध्ये ३ प्रतिशतले मात्रै निषेधित क्षेत्र मानिने उपल्लो मुस्ताङ (अपर मुस्ताङ) को भ्रमण गर्ने गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट