देशैभर भीषण वर्षा र बाढी-पहिरोको उच्च जोखिम
नेपालमा मनसुनी वायु तीव्र बन्दै जाँदा देशभर प्राकृतिक प्रकोपको जोखिम बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेर नेपालको तराई भू-भाग नजिकै अवस्थित छ।
यसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो र राति देशभर आंशिकदेखि पूर्ण रूपमा बदली (बादल लाग्ने) रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागमा व्यापक वर्षाको सम्भावना छ।
यस्तै, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा वर्षासँगै हिमपातको समेत सम्भावना छ।
मौसमविद्हरूका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। रातिको समयमा पनि कोशीको तराई र गण्डकीको पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
लगातार र भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता घातक प्राकृतिक प्रकोपको जोखिम उच्च रहेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण र सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन र मौसमको ताजा सूचनामा अद्यावधिक रहन महाशाखाले विशेष अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस