देशभर भारी वर्षा र हिमपातको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह
हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक (पश्चिममा सरदर स्थानभन्दा केही माथि) र पूर्वमा सरदर स्थान आसपास रहेकाले देशभर मनसुनी वायु सक्रिय भएको छ। जसका कारण बिहीबार बिहानैदेखि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा लगातार वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गोरखाको आरूघाटमा पछिल्लो एक घन्टामै १९ मिलिमिटर वर्षा मापन गरिएको छ भने पछिल्लो चौबीस घन्टामा ताप्लेजुङको तापेथोकमा ८१, नवलपुरको कोलुवामा ७०.६, सुर्खेतको गोथीकान्डमा ६७ र डोटीको कोलागाउँमा ५१ मिलिमिटर वर्षा रेकर्ड भएको छ। देशका अन्य विभिन्न भू-भागमा पनि हल्कादेखि मध्यम वर्षा जारी छ।
यसैबीच, महाशाखाले आज दिउँसो र राति देशका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा र हिमपातको चेतावनी जारी गरेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेश तथा सुदूरपश्चिमको तराई भू-भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी एवं हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ।
यस्तै, बिहीबार राति गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाल, पहाड र तराईका केही स्थानमा भारी वर्षा हुनुका साथै हिमाली भू-भागमा मेघगर्जन र चट्याङ्ग सहित हिमपातको समेत पूर्वानुमान गरिएको छ। वर्षा र हिमपातका कारण हुनसक्ने बाढी, पहिरो र गेग्रान बहावको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले तटीय तथा संवेदनशील क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस