देशभर मनसुन सक्रिय: चार प्रदेशमा 'अति भारी' वर्षाको रेड अलर्ट
देशभर मनसुन थप सक्रिय भएसँगै प्राकृतिक विपद्को जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थानमा अवस्थित रहेकाले मुलुकभर यसको प्रत्यक्ष प्रभाव देखिएको हो।
हाल देशैभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोको मौसम
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको समेत प्रक्षेपण गरिएको छ।
रातिको मौसम
राति पनि देशभर पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा जारी रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको समेत सम्भावना छ। राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुने देखिन्छ। कोशी र सुदूरपश्चिमका एक-दुई स्थानमा चट्याङसहित अति भारी वर्षाको आकलन गरिएकाले ती क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण देशका विभिन्न नदीहरूमा आकस्मिक बाढी, पहाडी क्षेत्रमा पहिरो, गेग्रान बहाव तथा तराईमा डुबान र कटानको खतरा औंल्याएको छ। प्राधिकरणले तटीय र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अपिल गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस