बागमती, गण्डकी, कोशी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशभर मनसुनी वायुको स्पष्ट प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित छ।
महाशाखाका अनुसार आज दिउँसो र राति देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। त्यसैगरी, पहाडी र तराईका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।
विशेष गरी बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाका कारण गेग्रान बहाव (debris flow), बाढी, पहिरो तथा भूक्षयजस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहने महाशाखाले चेतावनी दिएको छ। यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायात र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस