Techie IT
२०८३ कार्तिक ११, मंगलबार

बडिमालिका कप भलिबलको पहिलो संस्करणमा जाल्पा मा.विले रच्यो इतिहास


पहिलो बडिमालिका कप खुला भलिबल प्रतियोगिताको उपाधि जाल्पा माध्यमिक विद्यालय, पिनालेखले आफ्नो नाममा लेखाएको छ। आज (मङ्गलबार) सम्पन्न रोमाञ्चक तथा प्रतिष्पर्धात्मक फाइनल खेलमा त्रिवेणी नगरपालिकालाई सोझो सेटमा पराजित गर्दै जाल्पा मावि च्याम्पियन बनेको हो।

बडीमालिका नेचर प्रालि, बाजुराको आयोजनामा सञ्चालित यस प्रतियोगितामा जाल्पा माविले त्रिवेणी नगरपालिकाविरुद्ध ३–० को स्पष्ट सेटमा जित निकालेको आयोजक प्रालिका अध्यक्ष कृष्ण ओलीले जानकारी दिए। उनका अनुसार जाल्पाले पहिलो सेट २५–२३, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै उपाधि पक्का गरेको हो।

प्रतियोगिताको विजेता बनेसँगै जाल्पा माविले नगद १,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ। त्यस्तै, उपविजेतामा चित्त बुझाएको त्रिवेणी नगरपालिकाले नगद ९९,९९९ रुपैयाँसहित ट्रफीमा चित्त बुझाएको छ ।

कुल ८ टिमको सहभागिता रहेको यस प्रतियोगितामा लिग चरण, क्वाटरफाइनल र सेमिफाइनलका कडा चरणहरू पार गर्दै जाल्पा मावि फाइनलसम्मको यात्रा तय गर्न सफल भएको थियो।

खेलकुदलाई केवल प्रतिस्पर्धा र मनोरञ्जनमा सीमित नराखी प्रकृति संरक्षण, वातावरणीय चेतना, पर्यटन प्रवर्द्धन तथा स्थानीय सम्भावना उजागर गर्ने मुख्य उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको प्रालिका कार्यकारी निर्देशक गणेश थापाले बताए। आयोजक संस्थाले खेलकुदको यो उत्साहलाई कायम राख्दै आगामी वर्ष अझ परिमार्जनसहित दुई लाख रुपैयाँ पुरस्कार राशिको खुला भलिबल प्रतियोगिता आयोजना गर्ने घोषणासमेत गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट