मनसुन थप सक्रिय: यी प्रदेशमा भारी वर्षा र चट्याङ्गको चेतावनी
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास अवस्थित छ।
यसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहेको छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली तथा मधेस प्रदेशमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डki, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागमा आंशिक बदली रहनेछ। देशको हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुनेछ।
यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ। हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।



तपाईको प्रतिक्रिया दिनुहोस