आज नेपाली समाजमा खीर खाएर मनाइँदै साउन १५
काठमाडौं, साउन १५ — नेपाली समाजमा आज साउन १५ का अवसरमा खीर खाएर मनाउने परम्परा छ। वर्षा ऋतुका विशेष दिनहरूमध्ये असार १५ मा दही च्युरा र साउन १५ मा खीर खाने चलन प्राचीन कालदेखि चलिआएको मानिन्छ।
साउने झरीको मौसममा दूधमा मरमसला, चिनी र अन्य परिकार हालेर बनाइने खीर स्वास्थ्यका दृष्टिले लाभदायक मानिँदा यस्तो परम्परा बसालिएको जनाइएको छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार संस्कृतमा 'पायस' भनिने खीर सात्विक आहारमा पर्छ र वैदिक शास्त्रमा पितृ तथा देवकार्यका लागि महत्वपूर्ण खाद्यपदार्थका रूपमा वर्णन गरिएको छ।
“साउन महिनामा गाउँघरमा खेतीपातीका कामहरू प्रायः सकिएको हुन्छ, हरियालीका कारण घाँस प्रशस्त पाइन्छ र गाई–भैँसीले पनि प्रशस्त दूध दिन्छन्। दूध धेरै हुँदा आफन्त, इष्टमित्र र चेलिबेटीलाई बोलाएर खीर खुवाउने चलन चलेको हो,” गौतम भन्छन्, “यसले स्वास्थ्यमा पनि फाइदा गर्छ।”
उनका अनुसार साउन महिना भगवान् शिवलाई समर्पित महिनाका रूपमा लिइन्छ, र शिवलाई दूध तथा दूधबाट बनेका परिकार मनपर्ने भएकाले खीर चढाउने परम्परा पनि चलेको हुनसक्छ। यद्यपि यसको स्पष्ट शास्त्रीय आधार भने नरहेको उनले बताए।
वैदिक सनातन धर्ममा ऋषिमुनिको पालादेखि श्राद्धलगायतका कर्मकाण्डमा पायस खुवाउने प्रचलन रहिआएको उल्लेख गर्दै गौतमले हाल पनि गाईको दूधबाट बनाइएको खीर श्राद्धमा अनिवार्य रूपमा प्रयोग हुने चलन कायमै रहेको बताए।
नेपाली समाजमा चामल, सावधाना, सेवई, मकै, गाजर आदि मिसाएर खीर बनाउने चलन छ। सावधानलाई फलफूलकै श्रेणीमा राखिन्छ। हरियो मकै प्रसस्त पाइने साउन महिनामा मकैको खीर पनि लोकप्रिय मानिन्छ।
नेपाली बृहत् शब्दकोशअनुसार “दूधमा पकाइएको भात, चिनी, मसला आदि हालेर पकाइएको स्वादिष्ट परिकार” लाई खीर भनिन्छ।
नेपाली समाजमा १५ गतेका विशेष दिनहरूमा परिकार बनाएर आफन्त, छरछिमेकी र छोरीचेलीलाई खुवाउने परम्परा रहिआएको छ। असार १५ मा दही च्युरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घीउ–खट्टे, माघ १५ मा मालपुवा आदि परिकार खाने चलन अझै जीवित छ।



तपाईको प्रतिक्रिया दिनुहोस