Techie IT
२०८२ असोज ६, सोमबार

नेपालीहरूको महान पर्व बडादशैं आजदेखि सुरु


 नेपालीहरूको महान पर्व बडादशैं आजदेखि सुरुभएको छ। आज पहिलो दिन घटस्थापना हो। हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादशैं हर्षोल्लास र धूमधामका साथ मनाइन्छ।

आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरलाई गाईको गोबरले लिपपोत गरी पवित्र बनाइन्छ। त्यसपछि नदी, खोला वा अन्य चोखो स्थलबाट ल्याइएको बालुवा अथवा माटोमा जौ छरेर जमरा राखिन्छ। दुर्गा देवीको प्रिय वस्तु मानिने यो अंकुर विजया दशमीका दिन देवीलाई चढाइन्छ र टीका–प्रसादसँगै पहेँलो जमरा ग्रहण गरिन्छ, जुन समृद्धिको प्रतीक मानिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतमका अनुसार “जौबाहेक अरु अन्नको जमरा राख्ने शास्त्रीय विधि छैन।” यद्यपि कतिपयले गहुँ वा मकैको जमरा राख्ने गरे पनि त्यसको धार्मिक आधार नरहेको बताइन्छ।

घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भनिन्छ। आज स्थापना गरिएको कलशको जल विजया दशमीका दिन दुर्गा देवीको प्रसादका रूपमा ग्रहण गरिन्छ।

नवरात्र र देवीपूजा

घटस्थापनादेखि विजया दशमीसम्मको अवधि नवरात्र भनिन्छ। यस अवधिभर अधिष्ठात्री देवी दुर्गाका नौ रूपको पूजा गरिन्छ—

पहिलो दिन : शैलपुत्री

दोस्रो दिन : ब्रह्मचारिणी

तेस्रो दिन : चन्द्रघण्टा

चौथो दिन : कुष्माण्डा

पाँचौँ दिन : स्कन्दमाता

छैटौँ दिन : कात्यायनी

सातौँ दिन : कालरात्री

आठौँ दिन : महागौरी

नवौँ दिन : सिद्धिदात्री

बडादशैंको सातौँ दिन फूलपाती भित्राइन्छ। महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरूले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन्।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत तथा अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ गरिन्छ। यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, भद्रकाली, मैतीदेवीलगायत देशभरका शक्तिपीठमा पूजाआराधना तथा दर्शनार्थीको भीड लाग्छ।

दशैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। धर्मशास्त्रविद्हरूका अनुसार दुर्गापूजा वा दशैं कुनै जाति वा धर्म विशेषको मात्र नभई सम्पूर्ण मानवकल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीक हो।

यस वर्षको दशैंको टीका असोज १६ गते परेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट