आज फूलपाती : दशैंको रौनक सुरु

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपत्रिका भित्राउने परम्परा छ।
घटस्थापनादेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर वा पूजा कोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने चलन छ। यी नौवटा वस्तु नवदुर्गाका सहायक देवीहरूको प्रतीक मानिन्छन्।
धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमका अनुसार केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गर्ने वैदिक परम्परा छ। यही कारण फूलपातीलाई ‘नवपत्रिका’ पनि भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार फूलपाती भित्राउन विशेष साइत आवश्यक पर्दैन।
गोरखाबाट काठमाडौंसम्मको परम्परा
काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको दशैंघरमा आज अपराह्न गोरखाबाट ल्याइएको फूलपाती भित्राइने छ। परम्पराअनुसार गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर समुदायका छ जनाले फूलपाती ल्याउँछन्। जीवनपुरदेखि काठमाडौंको जमलसम्म भने काठमाडौंबाट गएका ब्राह्मण समुदायका छ जनाले फूलपाती ल्याउने चलन छ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक झाँकीसहित फूलपाती भित्राइन्छ। राजधानीबाट गएको समूह शनिबार नै जीवनपुर पुगिसकेको दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिएका छन्। जीवनपुरबाट स्वयम्भू हुँदै आउने क्रममा स्वयम्भूको वनबाट माने नामक फूल पनि नवपत्रिकामा समावेश गरिन्छ।
दशैंको चहलपहल सुरु
आजैदेखि दशैंको रौनक झन् बढेको छ। आश्विन शुक्ल प्रतिपदादेखि घटस्थापनासँगै सुरु भएको दुर्गापूजाको सामाजिक चहलपहल फूलपातीका दिनबाट अझै तीव्र हुने परम्परा छ।
आजदेखि सरकारी कार्यालयहरू बिदामा जाने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न नेपालीहरू टीका–प्रसादका लागि सपरिवार आ–आफ्नो घर फर्कन थालेका छन्। यससँगै काठमाडौं उपत्यकाको भीडभाड घट्दै सडकहरू सुनसान देखिन थालेका छन्।
गाउँघरमा भने आजदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ, रोटेपिङ र चङ्गा उडाउने रमाइलोले दशैंको उल्लास अझै बढाउने परम्परा रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस