बडादशैंको मुख्य दिन: टीका लगाउन साइत कुर्नु पर्छ ?

आज नेपालीहरूको महान् चाड बडादशैं देशभर आफन्तजनको हातबाट टीका र आशीर्वाद ग्रहण गरी उल्लासपूर्वक मनाइँदै छ।
घटस्थापनाको दिन घर वा पूजाकोठामा स्थापना गरिएको कलशबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवी दुर्गाको प्रसादस्वरूप टीका र जमरा मान्यजनको हातबाट ग्रहण गर्ने परम्परा रहिआएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दशैं आफैं शुभ दिन भएकाले टीका लगाउन साइत कुर्नु नपर्ने प्रचलन छ। तर, राज्य सञ्चालन गर्ने पदाधिकारीका लागि भने आज बिहान ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत तोकिएको समितिले जनाएको छ।
समितिका सदस्य प्रा.डा. देवमणी भट्टराई भन्छन्, "दशैंको बिहानदेखि अपराह्नसम्म टीका लगाउन उपयुक्त हुन्छ। सर्वसाधारणलाई साइत हेर्नु पर्दैन, तर राजकाज चलाउनेहरूले भने उत्तम साइतमै टीका ग्रहण गर्दा राम्रो हुने शास्त्रीय मान्यता छ।"
यस वर्ष देवी विसर्जनको साइत बिहान ९ बजेर २३ मिनेट तोकिएको छ। तर आवश्यक परे बिहानै सूर्यको झुल्कोमा दुर्गा विसर्जन गरी टीका लगाउन सकिने समितिले स्पष्ट पारेको छ।
टीका लगाउनुअघि दुर्गा विसर्जन अनिवार्य मानिन्छ। विसर्जनपछि कलशको जललाई घरका विभिन्न ठाउँमा छर्की शान्ति, प्रगति र उन्नतिको कामना गरिन्छ। त्यसपछि कुलदेवता र पितृदेवताप्रति अर्पण गरेपछि मात्र मान्यजनलाई टीका–जमरा लगाइन्छ।
काठमाडौँसहित देशका विभिन्न ठाउँमा घरको दैलामाथि र चारैतिर टीका–जमरा अर्पण गर्ने परम्परा पनि चलनमा छ।
टीका ग्रहण गर्दा गुरुपुरोहित भएमा उनीमार्फत, नभए मान्यजनकै हातबाट टीका–जमरा लगाउने परम्परा रहेको समितिले जनाएको छ। साथै, टीका लगाइदिने व्यक्ति पश्चिम र लगाउने व्यक्ति पूर्व फर्किनुपर्ने धार्मिक प्रचलन रहेको समेत समितिले स्पष्ट पारेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस