बडादशैंको मुख्य दिन: कुन दिशातर्फ फर्केर टीका लगाउने ?

आज नेपालीहरू महान् चाड बडादशैंको मुख्य दिनमा गुरुपुरोहित वा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरी उल्लासपूर्वक मनाइँदै छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा तोकिएको छ। तर, टीका लगाउँदा कुन दिशातर्फ फर्किने भन्नेबारे परम्परागत मान्यता पनि रहेको समितिले स्पष्ट पारेको छ।
समितिका सदस्य प्रा.डा. देवमणी भट्टराईका अनुसार, “दशैंको टीका थाप्ने व्यक्ति पूर्वतर्फ फर्किनुपर्छ भने लगाइदिने मान्यजन पश्चिमतर्फ फर्किनुपर्छ। यो नै परम्परागत अभ्यास हो।”
उनका अनुसार कतिपयले दक्षिणतर्फ फर्किएर पनि टीका लगाउने गरेका छन्, तर दक्षिण पितृकर्मका लागि मात्र उपयुक्त मानिने भएकाले दशैंको टीका लगाउँदा दक्षिण नफर्किनु राम्रो हुन्छ।
यस्तै, कतिपय स्थानमा चन्द्रमा हेरेर साइतअनुसार टीका लगाउने दिशा तोक्ने चलन भए पनि व्यापक रूपमा भने पूर्व–पश्चिम दिशामै मान्यता रहेको उनले बताए।
यस वर्ष देवी विसर्जनको साइत बिहान ९ बजेर २३ मिनेटमा तोकिएको छ। तर, काम विशेषले टाढा जानुपर्ने व्यक्तिहरूले बिहानै सूर्यको झुल्कोमा देवी विसर्जन गरेर टीका लगाउन सक्ने व्यवस्था रहेको समितिले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस