Techie IT
२०८२ कार्तिक २, आइतबार

आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती देशभर विविध कार्यक्रमका साथ मनाइयो


प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरी जयन्ती आइतबार देशभर पूजाआराधना तथा विविध कार्यक्रमसहित मनाइएको छ।

वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सा पद्धति आयुर्वेदका संस्थापक भगवान् धनवन्तरीको स्मरणमा आयोजना गरिने कार्यक्रमका क्रममा आयुर्वेदका चिकित्सक र यस क्षेत्रमा सक्रिय व्यक्तिहरूले बिहानै विधिपूर्वक पूजाआराधना गरेका थिए। धनवन्तरीलाई भगवान् विष्णुको अवतारका रूपमा पनि मानिन्छ।

वैदिक सनातन हिन्दू ग्रन्थअनुसार, देव–असुरको समुद्रमन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि अमृत कलश लिएर धनवन्तरीको उत्पत्ति भएको मानिन्छ। आयुर्वेदका चिकित्सकहरूले यो दिनलाई शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिन्छन्।

नेपालमा विधिवत् धनवन्तरी जयन्ती काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पस स्थापना भएपछि मनाउन थालिएको हो। उक्त क्याम्पस हाल राजकीय आयुर्वेद महाविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा छ। आयुर्वेद क्षेत्रका पहलकर्ताहरूको सक्रियतामा, विसं २०५६ देखि धनवन्तरी जयन्तीलाई आरोग्य दिवसका रूपमा समेत मनाउन थालिएको छ।

धनवन्तरीलाई आयुर्वेदिक ज्ञान र जडीबुटीका प्रतीकका रूपमा मानिन्छ। आयुर्वेद, चार वेदमध्ये अथर्ववेदको उपवेद हो।

आयुर्वेदिक कार्यक्रमको अवसरमा चन्द्रागिरि–८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, वडाध्यक्ष प्रल्हाद रिजाल, प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, अस्पताल प्रमुख डा नारायण अचार्य, आयुर्वेद क्याम्पस कीर्तिपुरका प्राडा शिव मंगल प्रसाद, स्वास्थ्य मन्त्रालयका आयुर्वेद विज्ञ पुष्पराज पौडेल, कलाकार निखिल उप्रेती र अन्य आयुर्वेद विज्ञहरूले धनवन्तरीका विविध आयाममा प्रकाश पारेका थिए।

चिकित्सालयले गत वैशाख २५ गते पञ्चकर्म र क्षारसुत्र सेवाका साथै पहिलोपटक शल्यक्रिया सेवा समेत सुरु गरेको थियो।

यसैबीच, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र अन्य निजी आयुर्वेद अस्पतालहरूमा समेत विभिन्न कार्यक्रम गरी धनवन्तरी जयन्ती मनाइएको छ।

सिंहदरबार वैद्यखाना विकास समितिले जनाएको छ, पछिल्लो समय आयुर्वेदिक औषधिको बिक्री चार गुणासम्म बढेको छ। गत वर्षसम्म ठप्प प्रायः रहेको वैद्यखानाको उत्पादन हाल बढ्न थालेको जानकारी पनि कार्यक्रममा गराइएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट