Techie IT
२०८२ कार्तिक ५, बुधबार

नेपाल सम्वत् ११४६

देशभर नेपाल सम्वत् ११४६ विविध कार्यक्रमसहित मनाइँदै

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (ई.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को शुभारम्भ गरेका थिए।


नेपाल सम्वत् ११४६ आज देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी उत्साहका साथ मनाइँदैछ। नेवार समुदायले यस सम्वत्लाई आफ्नो मौलिक नयाँ वर्षका रूपमा हर्षोल्लासपूर्वक मनाउने गर्छन्।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (ई.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को शुभारम्भ गरेका थिए। लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरका अनुसार नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को रूपमा मान्यता पाएको थियो।

डा. मानन्धरले भने, “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहसम्म मौलिक सम्वत्को रूपमा चल्यो। लिच्छविकालअघि शक सम्वत् प्रचलनमा थियो। देशकै नामबाट राखिएकाले नेपाल सम्वत् हाम्रो मौलिक पहिचान हो।”

विसं २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिलाउनका लागि निरन्तर अभियान सञ्चालन हुँदै आएको छ। काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत स्थानहरूमा नेवार समुदायले विशेष समारोह, झाँकी, सांस्कृतिक र्याली र पूजापाठसहित नयाँ वर्षको रूपमा नेपाल सम्वत् मनाउने गर्छन्।

गरिब जनताको ऋणमोचन गरी सामाजिक न्यायको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत् चलाएको योगदानको उच्च मूल्याङ्कनस्वरूप तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५६ सालको नयाँ वर्षका दिन शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।

त्यसपछि, विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए। परम्पराअनुसार कार्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाताको सुरुआत गर्ने चलन आज पनि काठमाडौं उपत्यकामा यथावत् रूपमा कायम छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट