महाशिवरात्रिमा बाग्मती नदीमा धापड्यामबाट पानी छोडियो
यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बाग्मती नदीमा पानीको बहाव बढाउन धापड्यामबाट पानी छाड्न सुरु गरिएको छ। भक्तजनलाई स्नानमा सहजता र नदीको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले ड्यामबाट क्रमिक रूपमा पानी प्रवाह गरिएको हो।
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बाग्मती सुधार आयोजनाले महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर परिसरमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लाग्ने भएकाले नदीमा पानीको सतह बढाउन आवश्यक समन्वय गरिएको जनाएको छ।
आयोजना उपनिर्देशक तथा सूचना अधिकारी उद्धव नेपालका अनुसार धापड्यामबाट छाडिएको पानी पशुपति क्षेत्रसम्म आइपुग्न करिब १४ घण्टा लाग्ने भएकाले अग्रिम रूपमा पानी प्रवाह सुरु गरिएको हो। “विशेष पर्वमा हामीले ड्यामको पानी बाग्मतीमा छोड्दै आएका छौँ,” उनले भने।
समितिका अनुसार महाशिवरात्रिका अवसरमा बाग्मती नदीमा प्रतिसेकेन्ड ४०० लिटरका दरले तीन दिनसम्म पानी प्रवाह गरिनेछ। यसले नदीको पानीको सतह घुँडासम्म पुग्ने र व्रतालुलाई स्नान गर्न सहज हुने अपेक्षा गरिएको छ।
यसका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)सँग समन्वय गरी सुन्दरीजल पानी प्रशोधन केन्द्रमार्फत पानी प्रवाह गर्ने व्यवस्था मिलाइएको छ। केयुकेएलका प्रमुख हेम बूढाथोकीका अनुसार आज साँझ ६ बजेदेखि आइतबार साँझ ६ बजेसम्म करिब पाँच करोड लिटर पानी बाग्मतीमा छाड्ने तयारी गरिएको छ।
उनीका अनुसार उपत्यकाका उपभोक्तालाई दैनिक वितरण हुने १७ करोड लिटर पानीमा कुनै असर नपर्नेछ, किनकि आवश्यक परिमाण मेलम्ची खानेपानी आयोजनाबाटै पूर्ति गरिनेछ।
धापड्यामको महत्व र चुनौती
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धापड्याम धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। एशियाली विकास बैंकको करिब ८९ करोड रुपैयाँ सहयोगमा निर्माण गरिएको यस जलाशययुक्त ड्यामको लम्बाइ १७४.७ मिटर र चौडाइ ८ मिटर रहेको छ। जलाशय क्षेत्रफल १५ हेक्टरमा फैलिएको छ।
ड्यामको मुख्य उद्देश्य वर्षायाममा पानी संकलन गरी हिउँदमा बाग्मतीमा प्रवाह बढाउनु हो। वर्षात्को समयमा संचित पानी हिउँदमा प्रतिसेकेन्ड ४०० लिटरका दरले नदीमा छोड्ने लक्ष्य रहे पनि पर्याप्त पानी संकलन नहुँदा सुक्खा याममा दैनिक रूपमा पानी प्रवाह गर्न चुनौती देखिएको आयोजनाले जनाएको छ।
गत वर्षको मनसुनमा मेलम्ची आयोजना अस्थायी रूपमा बन्द हुँदा धापड्यामको पानी सापटी लिइएको थियो। तर यस वर्ष भने सापटी पानी नलिइएको जनाइएको छ।
महाशिवरात्रिमा देश–विदेशबाट हजारौँ भक्तजन पशुपतिनाथ दर्शन र बाग्मती स्नानका लागि आउने भएकाले नदीको बहाव व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको समितिको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस