Techie IT
२०८२ चैत्र १८, बुधबार

कालिकामा मन्दिरमा ३७ लाख भेटी सङ्कलन


गण्डकी प्रदेशस्थित बागलुङको कालिका भगवती मन्दिरमा चैतेदशैँको अवधिभर ३७ लाख २५ हजार ५ सय ५५ रुपैयाँ भेटी सङ्कलन भएको छ। नवरात्र अवधिभर संकलित उक्त रकम गत वर्षको तुलनामा करिब पाँच लाख रुपैयाँले कम हो। गत वर्ष चैतेदशैँमा ४२ लाख रुपैयाँ भेटी उठेको थियो।

मन्दिर व्यवस्थापनका अनुसार यस वर्ष चैतेदशैँका अवसरमा सात लाखभन्दा बढी भक्तजनले दर्शन गर्दै भेटी चढाएका थिए। कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले नवरात्रको पहिलो दिनदेखि नै भेटी सङ्कलन क्रम बढ्दै गएको जानकारी दिए।

उनका अनुसार चैत ५ गते १ लाख १७ हजार, चैत ६ गते १ लाख ५३ हजार, चैत ७ गते ४ लाख ३८ हजार, चैत ८ गते १ लाख ७० हजार, चैत ९ गते १ लाख ७१ हजार र चैत १० गते ४ लाख ९२ हजार रुपैयाँ सङ्कलन भएको थियो। त्यसैगरी चैत ११ गते ३ लाख रुपैयाँ तथा चैतेदशैँको मुख्य दिन चैत १२ गते सबैभन्दा बढी १० लाख ४४ हजार रुपैयाँ भेटी उठेको उनले बताए।

नवमीका दिन ४ लाख ८० हजार र दशमीका दिन ३ लाख ५५ हजार ७ सय ३५ रुपैयाँ सङ्कलन भएको छ। अध्यक्ष खड्काका अनुसार मुख्य दिनमा भक्तजनको अत्यधिक भीड लागेको भए पनि वर्षाका कारण समग्र भेटी रकम केही घटेको हो। अष्टमीमा मात्रै चार लाखभन्दा बढी भक्तजन आएका कारण ट्राफिक व्यवस्थापनमा चुनौती भएको उनले बताए।

बागलुङ कालिका मन्दिरमा वडा दशैँ, चैतेदशैँ, साथै शनिबार र मंगलबार विशेष पूजा हुने गर्दछ। यहाँ अक्षता, बलि (बोका तथा कुखुरा), परेवा उडाउने शुल्क, विवाह तथा व्रतबन्ध, साथै पण्डितबाट बुझाइने दस्तुरबाट आम्दानी हुने गरेको छ।

इतिहासअनुसार विसं १५९१ मा पर्वतका राजा प्रतापीनारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गर्दा दाइजोका रूपमा ल्याइएको कालिका देवीको मूर्ति डोलामा बोकेर हालको मन्दिर रहेको स्थानमा स्थापना गरिएको मानिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट