Techie IT
२०८२ चैत्र २७, शुक्रबार

भक्तपुरमा बिस्का जात्रा सुरु


भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक पहिचान बोकेको प्रसिद्ध बिस्का जात्रा आज शुक्रबार साँझदेखि सुरु हुँदैछ। तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथ घट्खा टोलतर्फ पुर्‍याई भैलखः (भैरवनाथको रथ) तानातानसँगै जात्राको औपचारिक सुरुआत गरिनेछ। अब भक्तपुर नौ दिन आठ रात जात्राको उल्लासमा रमाउनेछ।

प्यागोडा शैलीमा काठैकाठले बनेको तीनतल्ले भैलखःमा भैरवनाथ र बेताल देवताको स्थापना गरी थने (माथिल्लो) र क्वने (तल्लो) टोलका बासिन्दाले रथ तान्ने परम्परा छ। तान्नु अघि भैलखःमा खड्ग, तरवार र निशान राखिन्छ। जात्राको पहिलो दिन दुवै टोलका स्थानीयले अगाडि पाँच र पछाडि चार डोरी समातेेर आ–आफ्नो क्षेत्रमा तानातान गर्ने चलन छ, जसलाई जात्राको मुख्य आकर्षण मानिन्छ।

रथ तान्ने परम्परागत मार्ग क्वनेतर्फ तमारी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, बंशगोपाल हुँदै तेखापुखुसम्म र थनेतर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोमारी, इनाचो हुँदै दत्तात्रयसम्म निर्धारण गरिएको छ। तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बली चढाई सरकारी पूजा गरिन्छ, जसको प्रसाद ‘स्याःक्वःत्याःक्वः’का रूपमा वितरण गरिन्छ।

चौथो दिन ५५ हात लामो यसींद्योः (लिंगो) ल्यसिङखेलमा उभ्याइन्छ, जुन पुरानो वर्षको विदाइ र नयाँ वर्षको स्वागतको प्रतीक मानिन्छ। यस अवसरमा वीरध्वजा र विश्वध्वजा फहराइन्छन्। पाँचौँ दिन नयाँ वर्ष वैशाख १ मा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ। सोही दिन साँझ यसींद्योः ढालेर भैलखः र भद्रकालीको रथ जुधाइ ‘द्योः ल्वाकिगु’ (संगम जात्रा) मनाइन्छ।

जात्राका क्रममा महाकाली, महालक्ष्मी, ब्रम्हायणी, महेश्वरी, बटुकभैरव, गणेशलगायत विभिन्न देवदेवीका जात्रा पनि क्रमशः सञ्चालन हुन्छन्। अन्तिम दिन पुनः भैलखः तानातान गर्दै जात्रा सम्पन्न गरिन्छ।

संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार बिस्का जात्रालाई ऐतिहासिक रूपमा ‘विश्व जात्रा’ भनेर अभिलेखमा उल्लेख गरिएको पाइन्छ। उनले प्रचलित नाग–नागिनीसम्बन्धी किंवदन्ती भ्रमपूर्ण रहेको बताउँदै यो जात्रा भैरवनाथ र भद्रकालीसँग प्रत्यक्ष सम्बन्धित रहेको दाबी गरेका छन्।

यस वर्ष जात्रालाई सुरक्षित र व्यवस्थित बनाउन प्रशासनले विशेष तयारी गरेको छ। सम्भावित झडप रोक्न दिउँसो ३ बजेदेखि रथ तान्ने र साँझ ५ बजेसम्म पहिलो दिनको जात्रा सम्पन्न गर्ने योजना बनाइएको छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ भने सिसी क्यामेरा र सादा पोशाकका प्रहरीमार्फत निगरानी कडा पारिनेछ।

रथमा अत्यधिक भीडका कारण हुने दुर्घटना रोक्न सीमित व्यक्तिलाई मात्र चढ्न अनुमति दिइने र रथमा बस्नेले नाङ्गो खुट्टा राख्नुपर्ने व्यवस्था गरिएको छ। हुलदंगा गर्ने तथा अवाञ्छित गतिविधिमा संलग्नलाई पहिचान गरी कानुनी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट