आज देशभर वातावरण दिवस मनाइँदै
‘समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नाराका साथ आज देशभर विविध कार्यक्रम आयोजना गरी ‘विश्व वातावरण दिवस २०२६’ मनाइँदै छ। यस वर्षको दिवसलाई सप्ताहव्यापी रूपमा भव्यताका साथ मनाउन लागिएको हो।
दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा एक विशेष समारोहको आयोजना गर्दै छ। उक्त मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। समारोहमा विभिन्न सरकारी निकायका प्रतिनिधि, विकास साझेदार, वातावरणविद् तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहने विभागले जनाएको छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौतीहरूको सामना र प्रकृतिमैत्री विकासको प्रवर्द्धनका लागि जनचेतना जगाउने उद्देश्यले यस वर्षको दिवसलाई विशेष महत्त्वका साथ मनाउन लागिएको हो। दिवसको उपलक्ष्यमा आज देशैभर वातावरण संरक्षण र जनचेतनामूलक विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने विभागले उल्लेख गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस